विज्ञान प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्ने लडाइँमा छु: मन्त्री सिंह



विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले नेपाली वैज्ञानिकहरुको विदेश पलायन रोक्ने बताएका छन् । विश्व डिएन डेको अवसरमा बायोटेक्नोलोजी सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री सिंहले विज्ञान र प्रविधिलाइ राष्ट्रिय प्रथामिकतामा राख्दै वैज्ञानिकहरुलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने बताएका हुन् ।

‘विज्ञान र प्रविधीलाई राष्ट्रिय प्रथामिकतामा राख्ने लडाई म तपाईहरुसँगै छु’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्त्री सिंहले भने, ‘विज्ञान प्रविधिलाई प्रथामिकतामा नराख्ने हो भने नेपाली वैज्ञानिकको विदेश पलायन रोक्न पनि सक्दैनौं ।’ उनले नेपाली वैज्ञानिकलाई अवसर सृजना गर्न र उनीहरुको उचित प्रतिभालाई प्रोत्साहन गर्न आफूले विशेष कार्यक्रमहरु बनाइरहेको जानकारी दिए ।

कार्यक्रममा नास्टका सचिव डा. बुद्धि रत्न खड्गीले अरु देशको तुलनानामा नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा बजेट न्युन रहेको बताए ।
बायो टेक्नोलोजि सोसाइटि अफ नेपालका अध्यक्ष नविन नारायण मुनंकर्मीले जैविक प्रविधिको क्षेत्रमा लगानीको वातावरण निर्माण गर्नका साथै जैविक प्रविधिको राष्ट्रिय तहमा अध्ययन अनुसन्धानमा सरकारको ध्यान जान आवश्यक रहेको बताए ।


डिएनए डेका अवसरमा सोमबार र मंगलबार दुई दिने कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, त्रिभुुवन विश्वविद्यालय लगायतको सहयोगमा कार्यक्रमको आयोजना भएको हो । दिवसका अवसरमा प्रतिष्ठानमा बायोटेक्नोलोजीका विभिन्न कलेजका विधार्थी, सस्था र नेपाल कृषि अनुसन्धान परिषद् लगायतले स्टल राखेका छन् ।


काठमाडौं विश्वविद्यालयमा अध्ययनरत कुशल कोइरालले कलेजमा अध्ययनरत विद्यार्थीहरुले नै गरेका अनुसन्धानका विभिन्न जातका विरुवाहरु स्टलमा प्रदर्शनीका लागि राखिएको जानकारी दिए । स्टलमा पलोनिया र बाँस, बर्मी पम्प म्यानुअल लगायतका विरुवाहरु छन ।
डिएनए डेको अवसरमा मंगलबार विभिन्न विधामा उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतिष्टानका अनुसार रिसर्च साइन्टिस्ट, बेस्ट बायोटेक स्टुडेन्ट, लाइफ टाइम अचिभमेन्ट अवार्ड दिनुकासाथै विभिन्न प्रतियोगिताको उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिने छ ।



यसैगरी, जीवन विज्ञानका दक्ष जनशक्तिलाई सरकारी तथा निजी क्षेत्रमा अवसर सृजना गर्नुपर्ने माग राख्दै हस्ताक्षर समेत संकलन गरिएको छ । उक्त हस्तक्षरलाई सरकार र निजी संस्थाहरुमा बुझाइने बताइएको छ ।

दिवसकै अवसरमा प्रतिष्ठानमा रक्तदान, आँखादान लगायतका कार्यक्रमहरु समेत भएको छ । डिएनए डबल हेलिक्स पत्ता लागेको ५० वर्षको उपलक्ष्यमा सन् २००२ अप्रिल २५ देखी विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा डिएनए डे मनाउन जैविक प्रविधी समाज नेपालले सुरु गरेको हो । जैविक प्रविधि समाज नेपालले सन् २००८ देखी यो दिवस मनाउन थालेको हो । २००९मा डिएनए डकुमेन्ट्री सो , २०१२मा जैविक प्रविधी सम्मेलन ,२०१३मा दुई दिने जैविक प्रविधी फेयर र त्यसैगरी २०१४ र २०१६ मा पनि मनाएको थियो ।



सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics