आधुनिक राजधानी बनाउने एमाले सपना



नेकपा एमालेले काठमाडौं उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री शहरका रूपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय तहको निर्वाचन–२०७४ का लागि एमालेले तयार पारेको घोषणा–पत्रमा उल्लेख गरिएको नेकपा एमालेको सरकार बनेको दुई बर्षमा नेपालको राजधानीसहित ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गरिने बताएको छ ।

उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमूनाका नगरका रूपमा विकास गर्ने गुरुयोजना निर्माण गरिने समेत उल्लेख भएको छ । स्थानीय निर्वाचनको पहिलो वर्षमै अधिकारसम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरिने एमालेले जनाएको छ ।

स्थानीय निर्वाचनको पहिलो वर्षदेखि नै राजधानी उपत्यकालाई स्वच्छ, प्रदूषणमुक्त र आकर्षक सहरको रूपमा विकास गर्न विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिने, आगामी ३ वर्षभित्र गाडी पार्किङका लागि उपत्यकाका विभिन्न स्थानमा बहुतले भवनहरू निर्माण गरिने, राजधानीका सबै सडकहरूमा पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरपालिकाद्वारा सञ्चालित सुविधासम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गरिने योजना समेत एमालेको छ । आगामी ३ वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कशपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने, उपत्यकाका भूकम्प अप्रतिरोधी तथा अव्यवस्थित संरचनाहरूलाई उचित मुआब्जा दिई अधिग्रहण गरिने र तिनमा बस्ने परिवारहरूलाई स्याटलाइट शहरमा स्थानान्तरण गरिने प्रतिवद्धता एमालेको छ ।

राजधानीमा भित्री, बाहिरी र बृहत् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिने, सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गरिने योजना छ । राजधानीलाई विद्युत् तथा पिउने र धुने पानीको अभाव नहुने व्यवस्था सुनिश्चित गरिने प्रतिवद्धता पनि एमालेले जनाएको छ । घोषणापत्रमा उल्लेख गरिए अनुसार ‘फोहोर, धुलो, हिलो र सबै किसिमका प्रदूषणबाट मुक्त गरिने छ ।

प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा तालको विकास गरिने छ । ती तालहरूको पानी तथा उपत्यका बाहिरका नदीहरूबाट लिफ्ट प्रणालीबाट पानी प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गरिने छ । चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गरिने छ । वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिने छ । नदीका दुवै किनारामा ५०/५० मिटर ग्रिनवेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गरिने छ । वाग्मती नदीमा ठाउँ– ठाउँमा बाँध हालेर ताल विकास गरिने छ । वाग्मती नदी र यसका शाखाहरूको स्वच्छता, पवित्रता र नदी प्रवाहक्षेत्रलाई कानूनद्वारा संरक्षण गरी उल्लंघन गर्नेलाई दण्ड जरिवाना लाग्ने व्यवस्था गरिने छ । राजधानीका नदी र तालहरूमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाइने छ । सबै ढलहरूबाट आउने पानीलाई प्रशोधन गरेर मात्र नदी, नाला र तालहरूमा मिसाउने व्यवस्था मिलाउने एमाललेले जनाएकाे छ ।

उपत्यकासँगै मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्ची इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गरिने छ । गुरुयोजना बमोजिमको दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण शुरु गरिने, विस्तार गरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर विकास गरिने एमालेको योजना छ ।

राजधानीमा दैनिक ५ लाख बाह्य र आन्तरिक पर्यटकहरू रहन सक्ने गरी आवश्यक पूर्वाधार विकास गर्ने योजना समेत एमालेको छ । राजधानीमा रहेका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरूलाई भूकम्प प्रतिरोधक बनाई संरक्षित गर्ने, क्षतिग्रस्त संरचनाहरूलाई पूर्वावस्था अनुरूप भूकम्प प्रतिरोधक हुने गरी पुनर्निर्माण गर्ने, राजधानीलाई स्वच्छ, सुन्दर, आकर्षक र पर्यावरण मैत्री बनाउनका लागि विकसित विज्ञान र प्रविधिलाई प्रयोग गर्ने एमालेले जनाएको छ । फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गगलहरूलाई जोड्ने गरी एकीकृत विकास गर्ने तथा यो क्षेत्रलाई खुल्ला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना एमालेको छ ।

सबै बधशालाहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने र खानयोग्य प्रमाणित गरिएको माछा मासु मात्र राजधानीमा बिक्री गर्न पाइने, माछा–मासु खुल्ला रुपमा बिक्री वितरण या ढुवानी गर्ने तथा तोकिएको ठाँउभन्दा बाहिर पसल खोल्ने प्रवृत्तिलाई दुरुत्साहन र अन्त्य गर्ने, खाद्य पदार्थ, तरकारी तथा फलफूलहरूको बिक्री वितरणमा स्वस्थकर मापदण्ड लागू गरिने घोषणपत्रमा उल्लेख छ ।

सबै किसिमका जैविक खाद्यवस्तु मिसावट गर्ने, अखाद्य र विषाक्त भएका खाद्यवस्तु बिक्री गर्ने तथा खुवाउने माथि कडा कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्तिको व्यवस्था लागू गर्ने प्रद्धिवता एमालेको छ । राजधानी लगायत सबै सहर र गाउँका पूर्वाधारहरू वातावरण मैत्री तथा अपाङ्गता– मैत्री बनाउने, पैदलयात्रु र साइकलयात्रुहरूका लागि अलग लेनको सुनिश्चितता गरिने, प्रदेशको राजधानी घोषित भएपछि सम्बन्धित सहरहरूलाई सुरुदेखि नै व्यवस्थित, आधुनिक, स्वच्छ, सेवा–प्रवाहमा सहज तथा नमूना सहरका रूपमा विकास गर्ने अठोट एमालेले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics