एमाले घोषणा पत्र- दुई वर्षमाआत्मनिर्भर, पाँच वर्षमा निर्यात


नेकपा एमालेले दुई वर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनासहित स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
वार्षिक करिब ४० अर्ब रुपैयाँसम्मको खाद्यान्न आयात भइरहकेको अवस्थामा एमालेले देशलाई दुई वर्षमै आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना ल्याएको हो ।
‘दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाइने छ’, एमालेले ल्याएको घोषणापत्रमा भनिएको छ, ‘कृषियोग्य जमिन चक्लाबन्दी गरी सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास गरिने छ । यस्ता फार्महरूमा माटोको परीक्षण गरी माटो अनुकूलको उत्पादन सुरु गरिने छ ।’
एमालेले कृषि फार्म तथा पशुपञ्छी, मौरी र माछापालन व्यवसायलाई व्यापक बनाउने अर्को योजना पनि ल्याएको छ ।

‘एमालेको सरकार बनेको पाँच वर्षभित्र कृषि उत्पादनमा वृद्धि गरी देशलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइने छ’, घोषणापत्रमा उल्लेख छ, ‘कृषि उत्पादनमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै आगामी १० वर्षभित्र कृषिभूमिमा आम रुपमा जैविक प्राङ्गारिक मल र विषादीको प्रयोग हुने अवस्था सिर्जना गरिने छ ।’
परम्परागत खेति प्रणालीमा चलिरहेको नेपालको कृषि क्षेत्रलाई आधुनिक उपकरण प्रविधियुक्त बनाउने कुरामा पनि एमालेले जोड दिएको छ ।
‘कृषि उत्पादनदेखि वितरणसम्मको प्रक्रियामा आधुनिक यन्त्रहरूको प्रयोगमा जोड दिइने छ । यान्त्रिकीकरण गर्न लाग्ने खर्चमा निश्चित मापदण्डका आधारमा सरकारले पहिलो पटक अनुदान दिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘सबै किसिमका कृषि र पशु उत्पादनमा बीमा व्यवस्था लागू गरिने छ ।’
हरेक स्थानीय तहका उत्पादन क्षेत्रमा कृषि बजार, एकीकृत सेवाकेन्द्र र सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्र स्थापना गरिने प्रतिवद्धता पनि एमालेले गरेको छ ।
एमालेले प्रत्येक प्रदेशमा कृषि अनुसन्धान केन्द्र र जिन बैंकको स्थापना गरिने घोषण गरेको छ । ‘कृषि फार्मका श्रमिकहरूको पारिश्रमिक, आवास, स्वास्थ्य उपचार, बीमा, निवृत्तिभरण र खेलकुद तथा मनोरञ्जनको समुचित व्यवस्था गरिने छ’, घोषणापत्रमा लेखिएको छ, ‘सरकार बनेको पाँच वर्षभित्र प्रदेश सदरमुकाम र स्थानीय तहका केन्द्रहरूमा खाद्यान्न भण्डारणको व्यवस्था गरिने छ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics