७ लाख क्युबिक फिट काठ वितरण



भूकम्पपछिको दुई वर्षमा वन मन्त्रालयले घर पुनर्निर्माण गर्न सर्वसाधारणलाई ७ लाख क्युबिक फिट काठ वितरण गरेको छ । मंगलबारको कान्तिपुरमा खबर छ, वैशाख पहिलो सातासम्म भूकम्प प्रभावित ३१ जिल्लामा सामुदायिक र सरकारी वनबाट गरी ७ लाख २७ हजार २ सय ८ क्युबिक फिट काठ वितरण गरिएको हो ।

मन्त्रालयले सर्वसाधारणका घर, सरकारी भवन र मठमन्दिर पुनर्निर्माणमा ५ करोड १८ लाख २४ हजार १ सय २२ क्युबिक फिट गोलिया काठ आवश्यक पर्ने आँकडा निकालेको थियो । १ करोड ५९ लाख २३ हजार ५ सय ४ क्युबिक फिट सहरी क्षेत्र र ३ करोड ५९ लाख ६ सय १७ क्युबिक फिट ग्रामीण क्षेत्रमा आवश्यक देखिएको थियो । वनले ग्रामीण क्षेत्रका पूर्ण रूपमा भत्किएका घर बनाउन कम्तीमा ५० र आंशिक भत्किएकालाई २० क्युबिक फिट काठ आवश्यक पर्ने बताएको थियो ।

प्रभावित ४० जिल्लामा ५ लाख सात हजार २ सय ३० घर पूर्ण रूपमा भत्किएका थिए भने २ लाख ७९ हजार ७ सय ६५ घरमा आंशिक क्षति पुगेको थियो । मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले वैशाख पहिलो सातासम्म प्रभावित जिल्लाका ३५ हजार ९ सय ९० घर र १ सय ६७ सरकारी कार्यालयलाई वनबाट सहुलियतको काठ उपलब्ध गराइएको जानकारी दिए । ‘जिल्ला आपूर्ति समितिमार्फत प्रभावितलाई काठ उपलब्ध गराउने काम चलिरहेको छ,’ उनले भने । प्रभावितलाई काठ उपलब्ध गराउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा वन अधिकृतसहितको आपूर्ति समिति छ । प्रभावित जिल्लाका सामुदायिक वनमार्फत पनि काठ उत्पादन गरी वितरण गरिएको छ । त्यसका लागि सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सहयोग गरेको छ । सामुदायिक वनमा भएका काठ सहज तरिकाले उपलब्ध गराउन फेकोफनले दुई वर्षअघि नै सबै सामुदायिक वन उपभोक्ता समूहहरूलाई निर्देशन गरेको थियो ।

वन विभागका उपमहानिर्देशक शिवकुमार वाग्लेले प्रभावितमध्येकै जिल्लाभित्रका सामुदायिक वनबाट काठ उत्पादन गरी आपूर्ति समितिमार्फत सस्तो मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराइएको बताए । मन्त्रालयले पुराना काठ ओसारपसारसमेत फुकुवा गरेको थियो । घरमा भएका काठ जहाँसुकै ओसारपसार खुला गरिँदा त्यसले पुनर्निर्माणमा सहयोग पुर्‍याएको वनको बुझाइ छ । तराईका नवलपरासी, कञ्चनपुर, चितवनलगायत जिल्लाबाट पनि प्रभावित जिल्लामा काठ पठाइएको वाग्लेले बताए ।

गत वर्ष नवलपरासीबाट सिन्धुपाल्चोकका लागि २ हजार क्युबिक फिट काठ उपलब्ध गराइएको थियो भने यो वर्ष पनि ३ हजार ८४ क्युबिक फिट काठ नवलपरासीबाटै पठाइएको उनले जनाए । यस्तै रामेछाप र गोरखामा १०र१० हजार, नुवाकोट र धादिङमा ८र८ हजार क्युबिक फिट काठ पठाइँदै छ । वन मन्त्रालयले अति प्रभावित सबै जिल्लामा ५र५ हजार क्युबिक फिट काठ उपलब्ध गराउन केहीअघि नै वन विभागलाई निर्देशन दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics