‘अर्थाेडक्स चिया’मा नेपाली कम्पनीले पायो संसारकै ठूलो फन्डिङ



अमेरिकाको चर्चित किक स्टाटर सर्जिनशिल फन्डिङ प्रोजेक्टमा एक नेपाली कम्पनीले सबैभन्दा धेरै सहयोग रकम पाउन सफल भएको छ । अर्थोडक्स चिया क्राउड फन्डिङ क्याम्पेनमा धेरै रकम सहयोग पाएर अमेरिकाको न्यूजर्सीस्थित नेपाल टिएलएलसीले विश्व रेर्कड तोडेको छ ।

यो अभियानमा नेपाल टिएलएलसीले ३३ हजार अमेरिकी डलर अर्थात ३३ लाख भन्दा बढी नेपाली रुपैयाँ रकम संकलन गर्ने लक्ष्य राखेको थियो । तर, अभियानका क्रममा कम्पनीले लक्ष्य भन्दा धेरै झण्डै ४३ लाख नेपाली रुपैयाँ (४२ हजार ७ सय ५९ डलर) सहयोग पाउन सकेको छ । उक्त अभियानमा ४ सय ९४ जनाले सहयोग गरेका छन् ।

अभियान सन् २०१७ फेब्रुअरी २ देखि मार्च ८ सम्म चलेको थियो । अभियानको उदेश्य नेपाली चिया खेतीको प्रवर्धन तथा कृषकहरुको आयस्तरमा बृद्धि गर्ने र सामाजिक दायितवका लागि सहयोगी हातहरु बटुल्ने थियो ।अभियानको नेतृत्व टिएलएलसीका संस्थापक निश्चल बास्कोटा र सह संस्थापक सस्रिक मान श्रेष्ठले गरेका थिए । नेपालको अर्गानिक चिया आयात गरी नेपाली चिया खेतीको प्रवर्धन तथा कृषकहरुको जिवनस्तरमा बृद्धि गर्ने उदेश्य राखि अमेरिकामा नेपाल टिएलएलसीको स्थापना गरिएको हो ।
अभियानको सफलताका विषयमा बिहिबार अनामनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । अभियानमा १० डलर सहयोग गर्नेलाई ‘दुईटा चियाको सानो प्याकेट’ उपाहर प्रदान गरिएको थियो । ठुलो रकम सहयोग गर्ने दातालाई नेपालको अर्थोडक्स चियाको विषयमा जानकारी दिन नेपाल भ्रमण गर्ने अवसर पनि राखिएको थियो । यसका साथै साना सहयोगकर्ताहरुलाई पनि रकम अनुसारको चिया उपहार दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियानका नेतृत्वकर्ता निश्चल पनि छिट्टै नेपाल आउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनी ठुला दाताहरुलाई नेपालको चियाका विषयमा जानकारी दिन दाताहरुलाई लिएर नेपाल आउन लागेका हुन् ।

अभियानले धेरैको मन जित्न सफल भएको खुसीमा अमेरिकाबाट निश्चलले नेपालमा सन्देश पठाएका छन् । उनले पठाएको सन्देशमा ‘हाम्रो यस कार्यक्रमलाई सफल पार्न विश्वभरिका व्यक्तिहरुको उपस्थिति रहयो, यो आश्चर्यको कुरा हो । यसले नेपालका चिया कृषकको जीवनस्तमा पनि सुधार ल्याउन सहयोग मिल्नेछ साथसाथै नेपालका ग्रामिण भेगमा रहेका कृषकका छोराछोरीहरुको लागि वर्षभरिको शैक्षिक सहयोग जुटाउन मद्धत गर्नेछ’ भन्ने कुरा उल्लेख छ ।

कार्यक्रममा चिया तथा कफि विकास बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली युवाले विश्वबजारमा नेपाली उत्पादन पु-याएकोमा खुसी व्यक्त गरे । उनले अमेरिकाको सहरमा नेपाली लोगो भएको चिया पुग्नु राष्ट्रका लागि पनि गौरवको कुरा भएको धारणा राखे ।
अमेरिकामा रहेको नेपाल टिएलएलसी सन् २०१६ मा स्थापित सस्था हो । उक्त संस्थाले नेपालका उच्च गुणस्तरका अर्गानिक अर्थाेडक्स चिया बिक्रि तथा प्रवर्धन गर्दै आइरहेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics