तीन मन्त्री फेरिए, अझै बनेन वन्यजन्तु अस्पताल

दुई वर्ष अघि शिलान्यास भएको वन्यजन्तु अस्पताल अहिले पनि पुरा भएको छैन । नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा वन्यजन्तु अस्पताल निर्माणको लागि मन्त्री महेश आचार्यले २०७१ साल फागुन २० गते शिलन्यास गरेका थिए ।

शिल्यान्यास भएका यतिको समय वितिसक्दा पनि भर्खर ढलानको काम भइरहेको छ । घाइते भएको वन्यजन्तुको उपचारका लागि भनेर तत्कालीन वनमन्त्री अचार्यको पालामा सुरु भएको त्यो काम दुइ मन्त्री फेरिइदा समेत कुनै प्रगती भएको छैन । आचार्यपछि दुई जना वनमन्त्री फेरिसके अग्नि सापकोटा र शंकर भण्डारी । उनीहरुले कर्मचारी सरुवा गरे, केही थान विदेश भ्रमण गरे तर अघिल्लो वर्षदेखि नै सुरु भएको महत्वपूर्ण अस्पतालको निर्माणसक्नेतर्फ ध्यान दिएनन् ।

चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकृत नुरेन्द्र अर्यालका अनुसार वन्यजन्तु अस्पतालको काम सुरु भएको ७ महिनामा अहिले बल्ल भूइतल्लामा ढलान हुने बेला भएको छ । अर्यालका अनुसार बजेट अभावकै कारण यसको काम ढिलो भएको हो ।

अस्पतालको लागि २ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको  छ । मन्त्रीहरुले पनि यस्ता आकर्षक कार्यक्रम सुरु भएको घोषणा गर्ने तर त्यसका लागि चाहिने बजेटको भने वास्ता नगर्दा यस्ता समस्या दोहोरिने गरेका हुन् । वर्षेनी थुप्रै वन्यजन्तु घाईते भएर मर्ने गरे पनि अस्पताल निर्माणमा सरकारको ध्यान गएको देखिदैन । अस्पताल भए विरामी वन्यजन्तुको उपचार हुन्थ्यो र बाँच्ने संभावना बढ्थ्यो । केही अघि स्थनान्तरण गरेर ल्याइएका बाह्रसिंगा र रौतहटबाट उद्धार गरी ल्याईएका एकसिंगे गैंडालगायतका वन्यजन्तु उपचार अभावले मरेका थिए ।

अस्पताल प्राथमिकतामा नपर्दा हरेक वर्ष धेरै वन्यजन्तु उपचार नपाएपछि मर्ने गरेका छन् । अस्पताल निर्माणमा भईरहेको ढिलाईको प्रत्यक्ष असर निकुञ्ज भित्र र बाहिर तथा स्थानान्तरण गरी ल्याईएका वन्यजन्तुमा परेको प्रष्ट देखिन्छ । निकुञ्जले वार्षिक २५ देखि १ सय ५० वटासम्म वन्यजन्तु तथा चराको उपचार हुँदै आएको जनाएको छ । राष्ट्रिय निकुञ्ज विभागको पहलमा र प्रकृति संरक्षण कोषको सहयोगमा अस्तपताल बन्न लागेको हो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics