मध्य पुसमै छैन जाडो



अघिल्लो वर्षको तुलनामा यसवर्ष जाडो कम भएको छ । यो वर्ष पुसको मध्य दिन हुँदा पनि काठमाडौंमा त्यति धेरै ठिर्याउने जाडो भएको छैन । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष जाडो कम भएको हो ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अघिल्ला वर्षहरुमा डिसेम्बर महिनाको न्युनतम तापक्रम शुन्य डिग्री सेल्सियस हुने गरेको थियो भने यो वर्ष ४ दशमलव ४ डिग्री सेल्सियस भन्दा कम भएको छैन ।

गत वर्ष पुस १५ (डिसेम्बर ३०) का दिन न्युनतम तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो भने यो वर्ष ५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

गत वर्ष डिसेम्बर महिनाको अन्तिम साताको तुलनामा यस वर्ष झन्डै पाँच डिग्री तापक्रम बढेको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार गत वर्ष पुस १५ (डिसेम्बर ३०) का दिन न्युनतम तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो भने यो वर्ष ५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

मौसमविद् प्रधानांगले भने ‘जाडो कम हुनुमा हिउदमा पर्ने पानीले पनि प्रभाव पार्ने गर्दछ । यस वर्ष डिसेम्बर महिनामा पानि परेको छैन ।’

महाशाखाका अनुसार सामान्यतया डिसेम्बर महिनादेखि हिउँ पर्न सुरु हुने गर्दछ । यद्यपि यो वर्ष डिसेम्बरको अन्त्यतिर मात्र हिउँ पर्न सुरु भएको छ । नेपालमा वर्षा हुने र हिउँपर्ने प्रणाली विपरित रहेको छ । मनसुनी हावा पुर्वी नेपालबाट विस्तारै पश्चिमतिर वहने गर्छ भने हिउँपर्ने प्रकृया पश्चिमबाट सुरु भई पुर्वतिर बढ्ने गर्छ ।

यस अघिनै विश्व मौसम संगठन (डब्लुइएमओ) ले सन् २०१६ लाई अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम भएको वर्ष हुने घोषणा गरेको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २२) मा सन् २०१६ का ९ महिनाका तापक्रमको तथ्यांकलाई मध्यनजर गर्दै यो वर्ष सबैभन्दा बढी तापमान भएको वर्ष हुने संकेत देखिएको घोषणा गरेको थियो ।

डब्लुएओका विशेषज्ञहरुले जनावरीदेखि सेप्टेम्बर महिनासम्मको ९ महिनाको तापक्रम पूर्वऔद्योगीकरणको समयभन्दा १.२ डिग्री सेन्टिग्रेडभन्दा बढी रहेको बताएका थिए ।

सन् २०१६ का ९ महिनामा विश्वको तापक्रम सन् १९६१ देखि १९९० सम्मको तापक्रमभन्दा ०.८८ डिग्री बढी रहेको प्रतिवेदनमा उल्लेख भएको थियो । गतवर्ष पेरिसमा विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडभन्दा बढी बढ्न नदिने सहमति भएको थियो ।

मौसमविद्हरुका अनुसार यस वर्षको तापक्रम उच्च हुनुमा एलनिनो नामको मौसमी घटनाको पनि भूमिका देखिन्छ । तर, त्यो मात्रा शून्य दशमलव २ डिग्री मात्रै भएको हुँदा विश्वव्यापी तापक्रम वृद्धिको ठूलो कारक भने हरितगृह ग्यास नै मानिएको छ । डब्लुएमओका अनुसार सन् २०१५ मा वायुमण्डलमा हरितगृह ग्यासको मात्रा ४०० पार्ट्स पर मिलियन (पिपिएम) रहेकामा सन् २०१६ मा आइपुग्दा ४०१.४२ पिएिएम पुगेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics