यो वर्ष पनि मनसुन अनुमानमा चिप्लिए मौसमविद्


यो वर्ष बंगालको खाडीमा न्युनचापीय प्रणाली बसिरहेको कारण मनसुन विस्तार हुन नसकेकाले पनि मनसुन भित्रिन ढिलो भएको हो ।

यो वर्ष पनि मौसमविद्हरु मनसुन अनुमानमा असफल भए । मौसमविद्हरुले यो वर्ष सामान्य समय भन्दा अघिनै मनसुन भित्रिने पुर्वानुमान गरेका थिए । जल तथा मौसम पुर्वानुमान महाशाखाले गत जेठ २० गते नै विज्ञप्ति जारी गर्दैे मनसुन अगाडी आउने अनुमान गरेको थियो । नेपालमा मनसुन भित्रिने समय जुन १० लाई मानिन्छ । मनसुन औसत समयभन्दा अघि नै आउने अनुमान गरेका मौसमविद् मनसुन भित्रिने समय बितिसक्दा पनि मनसुन कहिले भित्रिन्छ भन्नेमा अलमलमा छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल भन्छन्, "एक साता अघि नै भित्रिन्छ भन्ने पुर्वानुमान गरेका मौसमविद् अहिले ठ्याक्कै कहिले मनसुन भित्रिन्छ भन्ने अन्योलमा छन् ।"

विगत केहीवर्ष देखि नै नेपालमा मनसुन सामान्यभन्दा केही ढिलो गरी भित्रिएको पाइन्छ । गत वर्ष जुन १५ मा मनसुन भित्रिएको थियो । मौसमविद्हरुका अनुसार अहिले नेपालमा मनसुन भित्रिने अवस्थामा छ । मौसमविद् रिमालले भने, ‘यो वर्ष बंगालको खाडीमा न्युनचापीय प्रणाली बसिरहेको कारण मनसुन विस्तार हुन नसकेकाले पनि मनसुन भित्रिन ढिलो भएको हो ।’

नेपालको मौसम पूर्वानुमान गर्न बंगाल र भारतको विभिन्न क्षेत्रकै मौसमको अवस्था हेर्नुपर्छ । विशेषगरी भारतको मौसमी अवस्थाले नेपालमा के हुन्छ भनेर अनुमान गर्न सकिन्छ, मौसमविद् रिमालले भने ।

कहिलेकाहीँ मनसुनी हावाको गति नमिल्दा पनि मौसम अनुमान विग्रन जान्छ, रिमालले भने, ‘हावाको गति कहिलेकाहीँ हामीले अनुमान गरेजति नहुन सक्छ ।’
नेपालमा चार किसिमका मौसमी प्रणाली सक्रिय हुन्छन् जसमा बंगालको खाडीबाट मनुसुनी वायु आउनुअघिको प्रि– मनुसन, मनसुन, पोस्ट मनुसन र हिउँदमा पश्चिमी वायुले प्रभाव पार्ने गरेको छ ।

हामी बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा भयो भन्छौं, जुन हिन्द महासागरको दक्षिण गोलार्धबाट उत्पन्न भएर आउने हो । मौसमविदका अनुसार मनसुनी वायु दक्षिणी गोलाद्र्धबाट अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ । त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ। आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको सिस्टमले त्यसमा पानीको मात्रा बढाउँछ । बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै नेपाल पस्छ । ‘यो मनसुनी चक्र हरेक वर्ष यसरी हुने गर्दछ ।

मनसुन पुर्वानुमान गर्दा वायुको चाप, आद्रता, वायुको गति, बादलको मात्रा लगायत कुरा समेटीन्छन् । यसरी गणितीय हिसाब गरेर मौसम पूर्वानुमान गर्दा निश्चित ठाउँको सिस्टम अर्काे निश्चित ठाउँमा कति समयमा पुग्छ र त्यहाँ पुगेपछि के हुन्छ भन्ने विश्लेषण हुने मौसमविदहरुको भनाई छ । गणितीय मौसम प्रणालीले पछिल्लो समय पूर्वानुमान धेरै मिल्दै आइरहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics