सर्प डसाई बढ्यो



काठमाडौं उपत्यकालगायत छेउछाउका गाउँबस्तीमा सर्पको टोकाइ समस्याकै रूपमा देखिन थालेको छ । सर्पको टोकाइमा पर्नेमा महिलाको संख्या धेरै छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबार सर्पले टोकेर उपचारका लागि आउने ११ जना थिए । यो खबर मंगलबारको कान्तिपुरमा प्रकाशित छ ।

यो महिना सोमबारसम्म सर्प टोकाइले प्रभावित भई टेकु अस्पताल पुग्नेको संख्या ९२ छ । वैशाखमा भने ३६ जना सर्पले डसेपछि अस्पताल पुगेका थिए । हाल काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायत छेउछाउका बस्तीबाट सर्पले टोकेका बिरामी अस्पताल पुग्ने गरेका छन् । ‘विगतका तथ्यांकहरू विश्लेषण गर्दा यो संख्या असार र साउनमा धेरै देखिन्छ,’ अस्पतालका डा. शेरबहादुर पुनले भने । तथ्यांकअनुसार सर्पको टोकाइ भदौदेखि बिस्तारै कम हुँदै मंसिररपुससम्म पुग्दा फाट्टफुट्ट हुन्छ । माघ र फागुनमा सामान्यतया टोकाइ देखिँदैन र पुनः चैतदेखि सर्पले टोक्ने घटना देखिन थाल्छ । गत वर्ष ३२५ जना अस्पतालमा भर्ना भएरै उपचार गराएका थिए । मधेसमा सर्पले राति टोक्ने घटना बढी हुने गरे पनि राजधानी छेउछाउको पहाडी इलाकामा दिउँसो र साँझ बढी डसाइ हुने गर्छ । ‘हर्रो’, ‘हरेउ’ भन्ने ‘ग्रिन पिट भाइपर’ को डसाइ धेरै देखिने डा. पुन बताउँछन् ।

‘यो सर्पको विषले रगतलाई खराब पार्छ, यसमा आन्तरिक रक्तश्राव हुने समस्या देखिन सक्छ,’ उनले भने । मधेसतिर टोक्ने सर्पको विष ‘न्युरोटक्सिन’ अर्थात् स्नायु प्रणालीमा असर गर्ने हुन्छ । त्यो विषले केही मिनेटमै मानिस मर्न सक्छ । राजधानी छेउछाउ पाइने सर्पहरूमा ‘हेमो टक्सिन’ अर्थात् रगतमा असर गर्ने खालको विष हुन्छ । यो विषमा भएको रसायनहरूले रातो रक्त कणिकालाई नष्ट गर्छ, रगतलाई जम्नबाट रोक्छ, अंग विशेषको विफलता निम्त्याउनुका साथै तन्तुमा क्षति पुर्‍याउन सक्छ । यस्ता टोकाइमा परेकालाई अस्पतालले अवलोकनमा राख्छ । चिकित्सकले पीडितमा नाक मुख, गिजाबाट रगत आएको छ/ छैन, श्वास फेर्न, बोल्न गाह्रो भएको छ /छैन, आन्तरिक रक्तश्राव भएर रगत चढाउने स्थिति आएको छ/ छैन हेर्छन् । आवश्यक देखिए रगत चढाउनेलगायत उपचार प्रक्रिया अपनाइन्छ ।

सर्पले टोकेको ठाउँमा डोरीले कसेर बाँध्दा रक्तप्रवाह बन्द भएर ती अंग नष्ट हुने घटनासमेत देखिन्छ । डा. पुनका अनुसार टोकेको अंगलाई धेरैबेर कसेर बाँधेर राख्नु हुँदैन । क्रेप ब्यान्डेजले हलुका रूपमा बाँधेर ती अंग विशेष बढी हलचल नहुने गरी अस्पताल पुर्‍याउनुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार बर्सेनि ५० लाख व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । यसमध्ये २४ लाख लाई विषालु सर्पले टोकेको हुन्छ । यस्तै १ लाख २५ हजार व्यक्तिको मृत्यु सर्पदंशले हुने गरेको छ । सर्पको टोकाइले करिब ४ लाख व्यक्तिको हात, खुट्टालगायत अंग काटनुपर्ने स्थिति आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics