मनसुन भित्रियो, देशभर फैलिन अझै केही दिन



यो वर्षको मनसुन नेपाल प्रवेश गरेको छ । गत सोमबार नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरे पनि देशभर सक्रिय हुन भने अझै केही दिन लाग्ने जलवायु तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले यो वर्ष सामान्यतया केही समय अघि नै मनसुन भित्रिने प्रक्षेपण गरेको भए पनि केही समय ढिलो मनसुन भित्रिएको हो । गत वर्ष जुन १५ मा मनसुन भित्रिएको थियो, गत वर्षको तुलनामा यो वर्ष तीन दिन अघि नै मनसुन भित्रिएको छ ।

'पूर्वी नेपालबाट मनसुन भित्रिसकेको छ' महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, 'यो मनसुनी वायु सुदूर पश्चिमसम्म पुग्नलाई एक साता लाग्छ ।' नेपालमा मनसुनी वायु प्रवेश गरे पनि अहिले वर्षाको प्रणाली त्यति सक्रिय भएको छैन । श्रेष्ठले भने, 'अहिले हल्का मात्र वर्षा भइरहेको छ । अब केहीदिन भित्रमा देशभर मनसुन सक्रिय भई वर्षा हुन्छ ।'

यो वर्ष पनि औसत वर्षा हुने मौसमविद्हरुले अनुमान गरेका छन् । मौसमविद् सुवास रिमालले भने, 'यो वर्ष मनसुन अवधिका अघिल्ला महिनाहरुमा पश्चिम नेपालका केही भुभाागमा सामान्य भन्दा केही कम वर्षा हुने अनुमान गरिएको छ ।'

केही दिनमा देशैभर वर्षा


जल तथा मौसम पुर्वानुमान महाशाखाले मनसुन सक्रिए हुनासाथ देशैभरी वर्षाहुने जनाएको छ । मौसमविद् श्रेष्ठले भने, 'उपत्यकामा एक दुई दिनभित्रै वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।' अहिले तत्काल मनसुनी प्रणाली त्यति सक्रिय देखिँदैन उनले भने अब दुई तीन दिनभित्र नेपालभरी मनसुन सक्रिय रहन्छ । सामान्यतया नेपालमा वर्षभरिमा १४ सय मिलिमीटर वर्षा हुने गर्दछ । त्यसको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्दछ । नेपालमा जुन देखि सेप्टेम्बर सम्मको अवधिलाई मनसुनी अवधि मानिन्छ ।

प्रि मनसुनमा राम्रो वर्षा


मनसुन सुरु हुनु भन्दा अघिको अवधिलाई प्रिमनसुन भनिन्छ । यो वर्ष सामान्यतया प्रिमनसुनको अवधिमा बढी वर्षा भएको छ । मौसमविद्हरुले प्रि मनसुन अवधिमा भएको मनसुनी प्रणालीलाई हेर्दै यस अघि नै यस वर्षको मनसुन राम्रो हुने सङ्केत दिएका थिए । यसका साथै प्रिमनसुनी वर्षाले यो वर्ष किसानहरूलाई समेत फाइदा पुगेको छ । गहुँ, तरकारी, चैते धान रोप्ने किसानहरू प्रिमनसुनी वर्षाले लाभान्वित बनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics