गैंडा दिने घोषणा हस्ताक्षरमै मात्र

तस्वीर : सागर गिरी


सरकारले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेपछि तीन सरकार बनिसके तर चीनले अहिलेसम्म गैंडा पाएको छैन ।

अघिल्लो वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चीनलाई दुई जोडी गैंडा
उपहार दिने निर्णय गरेको थियो । त्यो पछि पुष्पकमल दाहाल र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेको छ । तर चीनलाई दिने गैंडाकाे कुनै प्रकृया अघि बढेको छैन ।
चीनले गैंडा मागेपछि चीनमा गैंडा राखिने स्थानसमेत नेपाली टोलीले अवलोकन गरी फर्किसकेको छ । चीनीया टोलीले पनि चितवनका गैंडा लानेमा सबै तयारी पूरा गरिसकेको छ ।

२०७३ साल असार २६ गते तत्कालीन केपी ओलीको अध्यक्ष्यतामा बसेको मन्त्रिपरिषद बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले मन्त्री नभएका कारण प्रकिया अघि बढाउन नसकिएको बताए । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैंडा उपहार दिएको थियो ।

तत्कालीन वन तथा भू संरक्षण मन्त्री अग्नि सापकोटासँग चीन भ्रमणमा गएका चीनका समकक्षी ‘स्टेट फेरेस्ट्री एडमनिस्ट्रेसन’ का मन्त्री झाङ जियाङले उपहारस्वरुप दुई जोडी गैंडा मागेका थिए । चीनबाट फर्केपछि सापकोटाले सरकार समक्ष प्रस्ताव राखेका बेला नै सरकारले गैंडा उपहार दिन सहमति जनाएको थियो । नेपालले गैंडा दिएबापत चीनले भने नेपालले रोजेका वन्यजन्तु तथा आर्थिक सहयोग प्राप्त गर्ने अनौपचारिक सहमती भएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics