विकराल समस्या बन्दै खडेरी

A+ A-


पानीको मूल सुकेर अग्ला भूभागमा बसोबास गर्नेहरुलाई खानेपानीको समस्या भएको सुनिन्छ । नदीनाला, तालतलैया, पोखरी सुकेर जलचरहरु मरेको, कृषकले सिँचाइ गर्न नपाएको, भूमिगत पानीको सेतहरु सुक्दा पानी अभाव भएको समाचारहरु जताततै सुनिन्छ । यस्तो किन भईरहेको छ त ? कारण के हुन ? हाम्रो गाउघरमा खडेरीका असरहरु के के महशुस भइरहेका छन् ? खडेरी विरुद्ध लड्न अर्थात खडेरीबाट हुने असरहरु रोकथाम गर्न वैज्ञानिक व्यवस्थापन कसरी गर्न सकिन्छ त ? हाम्रो देश नेपाल कृषि प्रधान मुलुक हो । त्यसैले यि प्रश्नहरु प्रति सचेत हुनु जरुरी छ । देशको आर्थिक विकासका लागि यस प्रश्नहरु सम्बन्धि हेक्का राख्न सबै नागरीकहरुको प्रमुख दायित्व एवं जिम्मेवारी हो ।


यस्तै समस्याको समाधान खोज्न र जनेचतना जगाउन जुन १७ मा खडेरी विरुद्धको दिवस मनाइन्छ । खडेरी र सुख्खाबाट जोगिन जागरुक बनाउने उद्देश्यले शनिवार अर्थात जुन १७ (अषाढ ३ गते ) विश्वभर खडेरी विरुद्धको दिवस मनाइदै छ । सन् १९९४ मा संयुक्त राष्ट्रसंघले जुन १७ लाई यो दिवसको रुपमा मनाउने घोषणा गरेको हो । विश्व खडेरी विरुद्धको दिवस सन् १९९५ देखि विश्वमा पर्न जाने खडेरी र यसबाट पर्ने असरको बारेमा जनचेतना जगाउने उद्देश्उले मनाउन शुरु गरिएको हो । नेपालमा यो दिवस मनाउने गरिएको छैन् । विशेषगरी अष्ट्रेलिया, क्यानाडा, घाना, अमेरिका लगायतका देशमा प्राथमिक्ताका साथ यो दिवस मनाइन्छ ।


खडेरी भनेको के हो ?


लामो समय पानी नपर्नु नै खडेरी हो । खडेरी को अर्थ सुख्खा हुनु हो । खडेरी एउटा प्राकृतिक घटना हो, जुन मौसम र उच्च चाप प्रणलिसँग सम्बन्धित छ । खडेरी विस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ । बैज्ञानिकहरुको भनाई बमोजिम मौसम विज्ञान अनुसार वर्षा हुने स्थान र सुख्खा समयमा पानी परेन भने त्यसलाई मौसमी खडेरी भनिन्छ । जल विज्ञान अनुसार खडेरी पृथ्वीको सतह र उपसतहमा पानीको आपूर्तिमा कमीलाई जनाउदछ । ताल तलैया, भूमीगत पानी लगायतको सतहमा कमीका आधारमा यसको आँकलन गरिन्छ । कृषि खडेरी कुनै निश्चित ठाँउमा खास अनाजका लागि माटोमा हुने चिस्यानमा आधारित हुन्छ । खडेरीलाई जुनसुकै नाम दिए पनि यो जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो । जलचक्रका कारण पारिस्थितिक पद्धति प्रभावित हुन्छ । यसले जल र स्थलमा अनेकौ समस्या निमत्याउछ ।
खडेरी हुनुको कारण यस्ता छन्


विशेषज्ञहरुको अनुसार जलवायु परिवर्तन नै खडेरीको प्रमुख कारण हुन् । वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्यधिक हरित ग्याँस उत्सर्जन आदी जलवायु परिवर्तनका कारणहरु हुन । नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशत भन्दा कम छ । तर नेपालले विश्व उत्सर्जनको ०.०२५ प्रतिशत मात्र हरितगृह ग्याँस उत्सर्जन गर्छ तर पनि नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियस दरले वृद्धि भईरहेको अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण नेपालमा अनावृष्टि, अतिवृष्टि, समयमा पानी नपर्ने, वर्षाका दर र गतिमा परिवर्तन, पानी पर्नै दिनमा कमी आदी घटनाहरु कुनै नौलो होइन । अनावृष्टिलाई नै खडेरी भन्ने गरिन्छ । विशेषज्ञहरुको अनुसार पृथ्वीको वायुमण्डलमा परिवर्तन हुनु, वर्षा ल्याउने वायुको दिशामा परिवर्तन नै खडेरीको प्रमुख कारण हो ।


खडेरीका असर यस्ता छन् ।


नेपालको करिब २१ प्रतिशत भूभाग मात्र कृषियोग्य छ । यस मध्ये करिब २० प्रतिशतमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध छ । नेपालको कृषि आकाशे पानीमा निर्भर छ । नेपालमा हुने वर्षामा प्रति वर्ष १.३ मिलिमिटरको दरले बृद्धि भई राखेको छ भने पानी पर्ने दिनहरुमा ०.०८ दिन प्रति वर्षको दरले घटी रहेको छ । कुनै भागमा सुख्खा खडेरी पर्ने तथा कुनै भागमा बाढी आउने गर्दछ । यस्तो अवस्थामा मनसुनी अनिश्चितता तथा बाढी र खडेरीले गर्दा खाद्यान्न उत्पादन बढ्न नसकेर खाद्य सुरक्षामा चुनौती थपिएको छ । तापक्रम वृद्धि तथा अतिवृष्टिका घटना सँगसँगै अनावृष्टि (खडेरी) का दिनमा पनि वृद्धि भइरहेको छ । हिउँदको समयमा सरदरमा पर्नुपर्ने जति बर्षा हुन सकेको छैन । अनावृष्टिका कारण सिँचाइ प्रणालिमा समेत नकारात्मक असर परेको छ । जसको प्रत्यक्ष असर नेपालमा कृषि उत्पादनमा ह्रास र खाद्य सुरक्षामा देखिएको छ ।


१९६० सतकको शुरुवात तिर कृषि उत्पादनमा दक्षिण एसियाकै प्रमुख स्थानमा रहेको हाम्रो देश नेपाल १९९० सतकको शुरुवात तिर आइपुग्दा सबै भन्दा कम स्थानमा आफुलाई उभ्याएको इतिहास नकार्न सकिन्न । यस वर्षको जेष्ठ महिनामा अत्यधिक गर्मी र खडेरीका कारण तराई क्षेत्रमा रोपिएका चैते धान नहर र सिचाई सुविधा नभएका स्थानमा डढन थालेका समाचारहरु सुन्न पाइन्छ ।


यसरी खडेरीका कारण अनाजको उत्पादन नहुने भएकाले अथवा कम उत्पादनले अनिकाल पर्ने सम्भावना उतिकै देखिन्छ । भोकमरी, रोगव्याधीको समस्या सिर्जना हुन्छ । खासगरि पानी नपाए पछि धेरै मानिस विस्थापित पनि भएका प्रशस्तै उदारहण पनि छन ।


कही कही त गरीब किसानहरु खेतिपाति नै गर्न छाडेका छन । मानिस, जविजन्तु, वोटविरुवा सबैलाई प्रभाव पारिरहेका छन । अनिकाल, बसाइँ सराइ जस्ता गम्भीर समस्या खडेरीका कारणले हुने गर्दछन । यसले मुलुकको सामाजिक, आर्थिक, सास्कृतिक, राजनीतिक अवस्थामा परिवर्तन ल्याउने गर्दछन् ।




हाम्रो देश नेपालमा विगतका वर्षहरुमा खडेरीका कारण विभिन्न स्थानहरुमा विभिन्न घटनाहरु, समस्याहरु यहाँका जनताहरुले नभोगेका होइनन् । जस्तै ः लामो समयको खडेरीले परिवार पाल्नै गाह्रो भएपछि हुम्लाको मैलास्थित दलित बस्ति चौतारीगाँउका सबैजना पेट पाल्न परिवार सहित भारततिर गएपछि गाँउ नै रित्तिएको थियो । सुख्खा खडेरकिा कारण कर्णालीमा ठुलो परिमाणमा खाद्यबाली नष्ट भएको थियो ा चितवन राष्ट्रिय निकुन्ज भित्र, मध्यवर्ती क्षेत्र र वरण्डाभार क्षेत्रका प्राकृतिक तालतलैया सुक्दै गएपछि लोप हुने अवस्थामा पुगेका छन् । अध्यधिक गर्मी र लामो समय देखि वर्षा नहुदा धनुषाको पूर्व पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका गाँउहरुमा पानीको मुहान सुकेका कारण खानेपानीको ठूलो समस्या सृजना भएको देखिन्छ । अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशको कारण पानी मुहान सुक्न थालेका, पानी सतह भासिएका कारण त्यस क्षेत्रका इनार, पोखरी, हातेपाइप, बोरिङ्ग लगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीयहरु बताउछन्।



खडेरीबाट सिर्जित प्रकोपबाट उत्पन्न समस्याहरु


खडेरीबाट पानीका मुहान सु्रक्ने, सिचाईमा असर, ईनार, कुवाँ, पोखरी आदी सुक्ने, अनिकाल, भोकमरी, रोगव्याधि इत्यादी प्रकोपहरु देखापर्दछन् । क) पानी मुहान सुक्नाले नेपालका गरिब जनताहरुले विभिन्न समस्याहरु भोग्न बाध्य भएका समाचार कुनै नोलो विषय होइनन् । जस्तै ः १) पिउने पानीको समस्या हुनु, २) सिचाईको समस्या, ३) कृषि उत्पादन घट्नु, ४) आम्दानीको श्रोत कमि हुन, ५) जलिय पारिस्थिति प्रणाली बिग्रनु, ६) रोगमा वृद्धि इत्यादी । त्यस्तै ख) सिचाइमा असर (खडेरी) ले गर्दा पनि विभिन्न समस्याहरु उत्पन्न भएका छन् । जस्तै ः १) कृषिउत्पादनमा कमि, २) वालीनालीमा रोग किराको प्रकोप, ३) पानीको श्रोतहरु हराउनु, ४) आर्थिक रुपमा विपन्न हुन, ५) बसाईसराई, ६) भोकमरी इत्यादी ।


खडेरीबाट सिर्जित प्रकोपबाट बच्ने अनुकुलन कार्ययोजना


पानी मुहान सुक्ने प्रकोप बाट अनुकुलन हुन विभिन्न क्रियाकलापहरु जस्तै ः वृक्षारोपण गर्ने, जोगाउने, हुर्काउने, वढ्दो तापक्रम सहन सक्ने वोटविरुवा तथा वाली नालीहरु को नश्ल तयार गरी खेती गर्ने, कृषिवन लगाउने, पानीको मुहान संरक्षण (इन्टेक,टंकी तथा पाइप लाइन व्यावस्थापन) गर्नु आवश्यक देखिन्छ भने कृषि उत्पादनमा÷माटोको उर्वराशक्तिमा ह्रास जस्ता प्रकोप बाट अनुकुलन हुन सिचाई पोखरी निमार्ण, प्लाष्टिक पोखरी मर्मत, प्लाष्टिक पोखरी मर्मत, आकासे पानी संकलन, उन्नत जातका विउविजन खरिद, गोठेमल सुधार, गोठ सुधार(भकारो सुधार), कम्पोष्ट मल, पशु मुत्र संकलन, स्प्रे टंकी खरिद, अगुवा कृषक विकास, कृषक पाठशाला इत्यादी क्रियाकलापहरु संचालन गर्न जरुरी देखिन्छ । सिचाइमा असर(खडेरी) बाट बच्न सिचाई पोखरी निर्माण, सिचाई कुलो निर्माण आकासे पानी संकलन गर्ने जस्ता क्रियाकलापहरु गर्न जोड दिनुपर्ने देखिन्छ ।


यसरी खडेरीबाट सिर्जित विभिन्न प्रकोप र विभिन्न प्रकोपहरुबाट उत्पन्न विभिन्न समस्याहरुबाट बच्नका लागि हामी जस्तो गरिव देशका जनताहरु अनुकुलनका लागि क्षमता अभिवृद्धि गर्दै अनुकुलन कार्ययोजनाहरु संचालन गर्न अपरिहार्य देखिन्छ । तब मात्र हामी र हाम्रो देशको सामाजिक, आर्थिक विकास सम्भव छ ।


(वन विभागमा कार्यरत लेखक सहायक वन अधिकृत हुन् । )

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics