३ लाख १८ हजार टन मल ल्याइदै



सरकारले यो वर्ष ३ लाख १८ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने भएको छ । धान रोप्ने समयमा किसानहरूलाई मल अभाव नहुने गरी समयमानै मल आयात गर्न लागिएको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । आयात गर्न लागिएको कुल रासायनिक मलमा ३ लाख १० हजार टन सरकारी अनुदानबाट र ८ हजार टन विना अनुदान ल्याउन लागिएको छ ।

यो वर्ष कृषि सामग्री कम्पनी मार्फत २ लाख ३० हजार मेट्रिक टन र साल्ट ट्रेडिङ मार्फत ८० हजार मेट्रिक टन मल ल्याउन लागिएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले भने, ‘सरकारले यो आर्थिक वर्षमा कृषि बजेट अन्तर्गत ४ अर्ब ६३ करोड रुपैयाँ मल खरिदका लागि छुट्याएको छ ।’

सरकारले हरेक वर्ष अनुदानमा मल ल्याउने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले भने, ‘सरकारले कृषि सामग्री कम्पनीलाई २ लाख ३० हजार मेट्रिक टन मल ल्याउने निर्देशन दिएको हो ।’ उनले भने, कहिलेकाहीँ ढुवानीमा आउने समस्याले पनि मल अभाव हुने गर्दछ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि यो वर्ष धान रोप्ने सिजनमा मल अभाव हुन नदिन रासायनिक मल ल्याउन थालेको जनाएको छ । कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले भने, ‘धान रोप्ने समयमा किसानलाई मल अभाव हुन नदिन अनुदानसहित र अनुदान रहित मल भित्र्याउन लागेका छौँ ।’

सरकारले रासायनिक मलमा करिब ६ करोड रुपैयाँ अनुदान दिँदै आएको छ । आर्थिक वर्ष ०७२ /७३ मा २ लाख ७० हजार मेट्रिक टन मल आयात भएको थियो । बाली लगाउने सिजनमा रासायनिक मलको अभाव हुन नदिन कृषि तथा जलस्रोत समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । जमिनको आधारमा नेपालमा रासायनिक मलको माग करिब ७ लाख ८५ हजार मेट्रिक टन आवश्यक देखिन्छ । तराईको अनुपातमा पहाडी तथा उच्च हिमाली जिल्लामा रासायनिक मलको प्रयोग दर कम छ ।

किसानहरूले सधैँ धान रोप्ने बेलमा मल अभाव समस्या झेल्दै आइरहेका छन् । आवश्यकमात्रामा मल नहुँदा यस किसिमको समस्या भोग्नुपरेको हो । रासायनिक मल वितरणमा बदमासी हुँदा पनि कति ठाउँमा किसानले मल पाउन नसकेको सरकारी अधिकारीहरू बताउँछन् । सम्बन्धित जिल्लाको नाममा पठाएको मल अन्यत्र ठाउँमा लैजाने, वितरणमा बदमासी गर्ने र यसको अनुगमन कार्य प्रभावकारी नभएको कारण पनि मल सहजै प्राप्त गर्न नसकेको किसानहरूको गुनासो छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics