अाफ्नै आँखा अगाडि परिवारजस्तै गाईहरू जल्दा…

तस्विर: अन्नपूर्ण पाेस्ट


गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा रिमोटु नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ । अन्नपुर्ण पोस्ट मा राजेश बर्मा लेख्छन्, रिमोटको यो अवस्था देखेर कर्की भक्कानो छाडेर रुन्छन् । गाई फार्मको शनिबारको भयानक दुर्घटनापछि बाबुरामका आँखा पनि सुकिसकेका छन् । हरेक गाईसँग भावनात्मक रूपले जोडिएका बाबुरामसँग रिमोटको सम्बन्ध निकै गहिरो छ । त्यसैले जीवन र मृत्युको दोसाँधमा रहेको रिमोटलाई उनले साथ छोडेका छैनन् ।

रिमोट ओम कृषि फार्ममा रहेका मध्येकै चलाख गाई हो । फार्ममा ब्याउने गाई, आइपरेको समस्या, गाई–बाच्छाबाच्छीलाई चोटपटक लाग्दा, तिर्खा र भोक लाग्दा सबैभन्दा पहिलो सूचना उही रिमोटले मालिक बाबुरामलाई कराएर जानकारी गराउँथ्यो । रिमोटकै सूचनाका आधारमा बाबुराम र कामदार गाई गोठमा पुगेर समस्या समाधान गर्थ्यो । तर आज उही रिमोट मृत्युसँग लड्दै छिन्, मेरो आमा आईसीयुमा भर्ना हुँदाको भन्दा पनि ठूलो हृदयविदारक घटना भयो मेरा लागि बाबुरामले भने । सकेसम्मको उपचार गर्दै छु । चिकित्सकले बाँच्दैन भनेका छन् । तर, मैले अझै आश मारेको छैन ।

ओम कृषि फार्मका मालिक बाबुरामले सानैदेखि आफ्नै हातले रिमोटलाई स्याहार गरेका हुन् । गोठमा हुने सबै प्रकारका सूचना आफूलाई समयमै उपलब्ध गराएका कारण बाबुरामले उक्त गाईको नाम रिमोट राखेका थिए ।

आगलागीमा परी सिकिस्त बनेका गाईको उपचारका लागि एनिमल नेपाल, स्नेहा केयर, जिल्ला पशु सेवा, पशु चिकित्सालय त्रिपुरेश्वरका दुई दर्जनभन्दा बढी पशु चिकित्सकले रिमोटसहित अन्य गाईको सघन उपचार गरिरहेका छन् ।

बाबुरामलाई रिमोटको पीडा खप्न गाह्रो भइरहेका बेला शनिबारको भीषण आगलागीमा परी गर्भवती अवस्थामा ज्यान गुमाएकी ठूली, लुती, लकी, उमा, लक्ष्मीलगायत सबै गाईको मायाले त्यतिकै पीडा दिएको छ । शनिबार बिहानसम्म हराभरा र गाईको आवाजले गुञ्जायमान हुने फार्म सुनसानमय छ ।गहिरो माया लागेर सबै गाईको स्वभावअनुसार नामकरण गरेको थिएँ । नामले बोलाउँदा आज्ञाकारी छोरीजस्तै बुर्लुक्कै उफ्रेर उनीहरू आउँथे । आफ्नै हातले खाना पानी खुवाउँथे उनले भने आज यही गोठ मसानघाटजस्तो बन्यो । बरु यति मूल्यबराबरको रुपैयाँ डढेर खरानी भए मलाई कुनै पीडा हुँदैनथ्यो । छोराछोरीजस्तै माया गरेर हुर्काएको हुँदा विछोडको पीडा सहन निकै गाह्रो हुँदो रहेछ ।

उनका अनुसार गाईलाई खाना वा पानी खुवाउन निर्धारित समयभन्दा पाँच मिनेट ढिलो हुँदा ठूली गाईले चिच्याएर सबै गाईलाई सार कराउन लगाउँथिन् । लुती निक्कै दुब्ली पातली थिइन् । यस्तै, लुतिकी छोरी खरायोजस्तै बुर्लक्क बुर्लुक्क उफ्रिन्थिन् । त्यही भएर उनको नाम खरायो थियो । अर्को गाईको नाम लक्की थियो । गत दसैंताका जन्मिएकी लकीले धेरै दूध खान पाएकीले उनको नाम लक्की राखिएको थियो । दसैंको समयमा बजारमा दूध बिक्री नहुँदा भए भरका सबै दूध उही लक्कीले खान पाउने सौभाग्य पाएकी थिइन् ।

बाबुरामको गाईसँग निकै गहिरो सम्बन्ध थियो । आमा अस्पतालको कोमामा रहेका बेला पनि बाबुराम गाईगोठ छाडेर आमालाई हेर्न गएनन्। हजुरआमा बित्दासमेत घर गएनन् । आफ्नै सालीको विवाहमा पनि सहभागी भएनन् । यसैबाट थाहा हुन्छ, बाबुरामले गाईलाई कति माया गर्थे भनेर ।

बिहानै उठेर गाईकी मुखिया ठूली को पूजाआजा गर्ने गरेका थिए । गाई र मेरो सम्बन्ध नङमासुको जस्तै बनेको थियो, बाबुरामले भने गाईकै मायाले गर्दा आमा कोमामा हुँदा र हजुरआमा बित्दा पनि जान सकिनँ । गाई छोराछोरीजस्तै भइसकेका थिए । उनीहरूकै माया लागेर पछिल्लो ५—६ वर्षदेखि दसैैंको टीका, तिहार, मावली र विवाह व्रतबन्ध केही मानिनँ । भूकम्प र नाकाबन्दीजस्तो कष्टपूर्ण समयमा पनि बाबुराम दम्पती मिलेर ३० वटा गाईलाई स्याहार गरिरहे ।

बिहान पौने तीन बजे नै बाबुराम दम्पती ओछ्यान छाडेर १० जना कामदारको सहयोगमा गोबर सोहोर्ने, दूध दुहने र चारापानी खुवाउने गर्थे । गाईगोठ अरुको भरमा छाड्दा समस्या आउला भनेर बाबुराम दम्पती गाईकै गोठमा पाताको सानो कोठाभित्र बस्दै आइरहेका थिए । अर्थशास्त्रका उपप्राध्यापकसमेत रहेका बाबुराम साताको दुई दिन मंगलबार र बुधबार मात्रै कलेजमा पढाउन जान्थे । बाँकी सबै दिन गाई गोठमा बिताउने गर्थे ।

आगलागी हुँदा बाबुरामले तीनवटा गाईको दाम्लो फुकाए । सबैतिरबाट एकैपटक आगोको लप्काले छुँदा दाम्लोमै रहेका एक सय २२ मध्ये ८१ वटा गाईको जलेर ज्यान गएको हो । बाँचेका ४१ डढेर घाइते छन् । घाइते हुनेमा एक सातादेखि तीन महिनासम्मका बाच्छाबाच्छी छन् । फार्ममा ७५ वटा दुधालु गाई, २२ वटा कोरली गाई र बाँकी बाच्छा बाच्छी थिए ।
५० वटा गाई बाबुरामको फार्ममा जन्मिएका हुन् । बाँकी डेढ लाखदेखि अढाई लाखसम्ममा खरिद गरी ल्याइएका हुन् ।आगलागीबाट चार करोडभन्दा बढीको क्षति भएको छ । ६ महिना माथिका सबै गाईको बाबुरामले युनाइटेड इन्सुरेन्समा बिमा गराएका छन् ।

ओम फार्ममा नियमित रूपमा गाईको स्वास्थ्योपचार गर्ने स्थानीय पशु सेवा केन्द्रका पशु चिकित्सक डा. शंकरप्रसाद घिमिरेका अनुसार बाबुराम र गाईको सम्बन्ध निकै गहिरो थियो ।

चिकित्सक टोलीले निःशुल्क रूपमा जलेर सिकिस्त बनेका गाईलाई स्लाइन पानीसहित अन्य अतिआवश्यक उपचार दिइरहेका छन् । वार्षिक १० लाख रुपैयाँ भाडामा लिएर ५० रोपनी जग्गामा गाईफार्म र गाईलाई खुवाउन बाबुरामले घाँसको खेती पनि गरेका छन् । फार्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन हुन्थ्यो । उत्पादित सबै दूध बजारमा बिक्री हुन्थ्यो । गाई पाल्ने प्रेरणा आमाबाट प्राप्त भएको जानकारी दिँदै उनले भने, ुगाई पाल्दा सुखी हुने र फाप्ने भन्दै आमाले ०६९ सालमा गाई किन्न ५० हजार रुपैयाँ दिनुभयो ।

त्यो रकमबाट गाई किनेर पछि बैंकबाट एक करोड ऋण लिएर भक्तपुरमा गाई पालन गर्ने काम सुरु गरे । भक्तपुरमा पानी, घाँस र पर्याप्त जमिन उपलब्ध नभएकाले गत माघमा रुप्सेटारमा बाबुरामले फार्म सारेका थिए ।

यसरी भयो आगलागी


भक्तपुरबाट माघममा रुप्सेटार सारिएको गाई फार्मको भौतिक संरचना पूर्ण रूपमा बनिसकेको थिएन । फार्मकोमाथि फलामे संरचना र पाता हालिए पनि तल भने बाँसकै संरचना थियो । आइतबारसम्ममा उक्त बाँसको सम्पूर्ण टहरा हटाउने योजनासाथ शनिबार कामदार खटिएका थिए ।

बिहान ११ बजे बाबुराम दम्पतीसहित कामदार खाना खाएर आराम गर्दै थिए । त्यही बेला एक्कासि विद्युत् सर्ट भई आगलागी भयो । विपरीत दिशाबाट हावा पनि ठूलो चलेकाले पाँच मिनेटमा आगोको मुस्लोले फार्मको चारैतर्फबाट घेरा हालिसकेको थियो । बारुण यन्त्र आउन ढिलाइ भएको र चारैतर्फबाट आगोको मुस्लोले लपक्कै छोपेकाले दाम्लोबाट गाईलाई निकाल्न नसक्दा ठूलो संख्याम गाईको ज्यान गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics