कालीखोलाको पहिरोमा परी दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

तस्विर : दीपक दाहाल


नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा शुक्रबार बिहान एक बजे खसेको पहिरोमा परेर दुई जना प्रहरीको मृत्यु भएको छ । प्रहरीको गाडी र अन्य दुई जना प्रहरी बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।

नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा चार जना प्रहरी चढेको भ्यान पुरिएर प्रहरीका हतियारहरुसमेत हराएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार सो दुर्घटनामा दुई थान एसएलआर बन्दुक र त्यसमा लाग्ने सय थान गोली पनि हराएको छ। भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शव फेटिएको छ दुईजना प्रहरीसमेत हराइरहेका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको भ्यानमा चढेर प्रहरीहरु बिहीबार राति चार किलोमा भएको पहिरो खुलाउन गएका थिए। राती ११ बजे गएको पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कदै गर्दा कालिखोला नजिक अर्को पहिरोमा परेर उनीहरु चढेको गाडी वेपत्ता भएको हो। टोलीको नेतृत्व गरेरका सइ निश्चलकुमार तमाङ र प्रहरी जवान दिपककुमार मास्केको शव फेला परेको छ।

पिकअप भ्यानसँगै त्यसमा रहेका अरु दुईजना प्रहरी जवान सन्दीप कार्की र लिलबहादुर चेपाङको अवस्था अज्ञात रहेको छ। भ्यानमा एउटा हतकडी र दुईवटा सञ्चारसेटहरु पनि थिए।

प्रहरीको भ्यानसँगै ना५ख ७८२७ नम्बरको मालबहाक ट्रक पनि पहिरोमा परेको थियो। सो ट्रक त्रिशुली नदी किनारमा पुगेको छ। चालक रामकुमार लामाको अवस्था सामान्य छ। सहचालक सानु ब्लन घाइते छन्। उनको अवस्था मध्यम छ।

पहिरोका कारण सो सडकमा यातायात ठप्प छ। नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो। यो सडक हुँदै दैनिक १० हजार गाडी ओहाेर दोहाेर गर्छन्। सो सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ। फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटेका कारण वर्षायाममा पहिरो झरेर यात्रुलाई सास्ती दिने गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics