धानसम्बन्धी जान्नैपर्ने तथ्य



हामी नेपालीहरुले एक अर्कालाई भेटेर कुराकानी सुरु गर्नु भन्दा अगाडि नै भात खानु भयो ? भनी सोध्ने गर्छौँ यसले नेपालमा धानको महत्व कति छ भन्ने झल्काइरहेको हुन्छ ।

नेपालमा खाद्यान्नबालीहरु मध्ये उत्पादन र क्षेत्रफलको हिसावले धानबाली पहिलो नम्बरमा आउँछ । संसारभरकै धान उत्पादन बिशेषगरी मनसुनमा भरपर्ने गरेको पाइन्छ । साधारणतया धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । नेपालमा कुल खाद्यान्न उत्पादनमा धानको ५० प्रतिशत भन्दा बढी योगदान हुने गरेको छ । धानको ९० प्रतिशत भन्दा बढी उत्पादन र खपत एसियाली देशहरुमा हुने गर्दछ । एसियाली मुलुकहरुले नै धानको उपयोग गर्ने भएकाले उत्पादन र उपभोग यहीँ धेरै हुने गरेको छ । यद्यपी १० प्रतिशत धान एसियाली मुलुकबाट अन्य मुलुकमा निर्यात हुने गरेको छ ।

धानको महत्वलाई थप पुष्टि गर्न यो वर्ष पनि आज (असार १५) १४ औं राष्ट्रिय धान दिवस एवं रोपाई महोत्सव मनाइदै छ । यो वर्ष धान दिवस तथा रोपाईँ महोत्सवको नारा ‘दुईबाली धानको बिस्तार, आर्थिक सम्बृध्दिको आधार’ भन्ने तय गरिएको छ ।

एशियाली देशहरुमा उत्पादन हुने जम्मा धानको ५० प्रतिसत धान चिन र भारतले मात्र उत्पादन गर्ने गरेका छन । तसर्थ यी दुई देशहरुमा धानको उत्पादन घट्यो भने संसारभरि चामल उपयोगगर्ने देशहरुवीचनै हलचल पैदा हुन्छ । त्यसैले धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अतिनै जरुरी छ ।

आर्थिक वर्ष २०७३।२०७४ अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिटक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर रहेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादन र उत्पादकत्व क्रमशः करिव २२ र ७ प्रतिसतले बृध्दि भएको छ । आर्थिक दृष्टिकोणले भन्ने हो भने यस वर्ष करिव १ खर्ब ४ अर्ब रुपैयाँ बरावरको ऐतिहासिक धान उत्पादन भएको छ पनि भन्न सकिन्छ । धानको उत्पादन उत्साहजनक बृध्दि भएकोले यो वर्ष नेपालको आर्थिक बृध्दिदर ७ दशमलव ५ प्रतिसतहुने जानकारी समेत हालसालै बिश्व बैंकले दिएको छ । गत आर्थिक वर्ष २०७२।२०७३ को वास्तविक आर्थिक बृध्दिदर ० दशमलव ०१ प्रतिशत भएको र चालु अर्थिक वर्षमा ६ दशमलव ९४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसको साथै यो वर्षको धान उत्पादन एवं उत्पादकत्वलाई ऐतिहासिक रेकर्डपनि भन्न सकिन्छ ।

कृषि विभाग, अमेरिकाको अनलाइनमा प्रकाशित तथ्यांक बमोजिम आर्थिक वर्ष २०७३।२०७४ मा विश्वभरको चामल उत्पादन करिव ४ सय ८२ मिलियन टन भएको थियो । आर्थिक वर्ष २०७२।२०७३ मा भने ४ सय ७२ मिलियन टन चामल उत्पादन भएको थियो । तसर्थ यस वर्ष विश्वभर गत वर्षको तुुलनामा करिव १० मिलियन टन अथवा करिव २ प्रतिसत बढी चामल उत्पादन भएको भन्न सकिन्छ । विश्वभर सबैभन्दा बढी धान उत्पादनगर्ने १० देशहरुमा क्रमशः चिन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान पर्दछन ।

बैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरुको दसौं दक्षिण एशियाली दृष्टिकोण मन्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो । यस वर्ष पूर्वी, मध्य र पश्चिम नेपालमा औसत वर्षा हुने जल तथा मौसम विज्ञान बिभाग पूर्वानुमान महाशाखाका मौसमविद् शान्ती कंडेलले जानकारी दिएकी छिन् । तर मध्यपश्चिम र सुदूरपश्चिममा औसतभन्दा कम वर्षा हुने अनुमान छ । विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेको हो । यस वर्ष मनसुन समयमै शुरु हुने भएको छ । गत वर्ष १ असार देखि सुरु भए पनि यस वर्ष छिटो मनसुन सक्रिय हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान शाखाले जनाएको छ ।

(लेखक वरिष्ठ धानबाली बिशेषज्ञ हुन् ।)


 

भाेलामान सिंह बस्नेत

प्रतिक्रिया दिनुहोस

web
analytics