प्रहरीको मिलेमतोमा अवैध खानी सञ्चालन

फाइल फाेटाे


ललीतपुरको लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरूबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरू चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चल्छन् । तर, प्रहरीले तिनलाई देख्दैन । अवैध खानी र क्रसर उद्योगहरू टीकाभैरव प्रहरी चौकीबाट ५ सय मिटरको दूरीमा छन् । विहीबारको कान्तिपुरमा प्रशान्त माली लेख्छन्, बुरुन्चुली क्षेत्रमा सञ्चालित क्रसरहरूको आवाज चौकीमा पनि सुनिन्छ ।

तर, विना स्वीकृति चलिरहेका यी उद्योगहरू रोक्न न चापागाउँ प्रहरीले प्रयास गरेको छ न टीकाभैरव प्रहरीले नै । यी दुई वृत्त र चौकीमात्र होइन, महानगरीय प्रहरी परिसर जावलाखेल, जिल्ला खानी अनुगमन समिति पनि मौन छन् ।

सेटिङमा खानी तथा क्रसर सञ्चालन भइरहेकाले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीय बासिन्दाको आरोप छ । खानीमा दैनिक ३ सयभन्दा बढी सानारठूला गाडी आवतजावत गर्छन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख श्यामकुमार राईले लेले क्षेत्रमा अवैध रूपमा खानी तथा क्रसरहरू सञ्चालन भइरहेको थाहा हुँदा पनि आफूले केही गर्न नसकेको बताए । ‘माथिल्लो निकायबाट निर्देशन नआएसम्म बन्द गर्न मिल्दैन,’ उनले भने, ‘अवैध सञ्चालित खानी तथा क्रसर उद्योग नियन्त्रण गर्न जिल्लास्तरीय खानी अनुगमन टोलीले अनुगमन गर्नुपर्छ ।’ खानी अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ७ जनाको मूल समिति छ ।

समितिका सदस्यमा महानगरीय प्रहरी प्रमुख एसएसपी ठूले राई, सदस्य सचिवमा स्थानीय विकास अधिकारी हेमराज भुसाल छन् भने अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ जनाको समिति गठन गरिएको छ । जसको सदस्यमा इलाका वन कार्यालय लेलेका प्रमुख, जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख, महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख र जिल्ला विकास समितिको योजना अनुगमन तथा प्रशासकीय अधिकृत छन् । समितिले खानी तथा क्रसर क्षेत्रको नियमित अनुगमन नगरेको वर्ष दिनभन्दा बढी बितिसकेको छ । तैपनि, लेले क्षेत्रमा २० भन्दा बढी क्रसर उद्योग र दर्जनौं ढुंगा खानी सञ्चालनमा छन् ।

स्वीकृति प्राप्त चारवटा खानीमध्ये दुई वटा सञ्चालनमा छैनन् । सञ्चालनमा रहेको देवीचौरको विनायक एग्रिगेट र निराकार रोडाढुंगा उद्योगले पनि न्यूनतम मापदण्ड पुरा गरेका छैनन् । खानी फैलिएर वन क्षेत्रमा पुगिसकेको छ तैपनि जिल्ला वन कार्यालय मौन छ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले क्रसर उद्योग सम्बन्धी प्रतिक्रिया दिन मानेनन् । बिनास्वीकृति सञ्चालित खानी भने बन्द गर्न साताअघि नै महानगरीय प्रहरी परिसरलाई निर्देशन दिइसकेको उनले दाबी गरे ।

स्थानीय विकास अधिकारी हेमराज भुसालले लुकिछिपी क्रसर सञ्चालन भइरहेको दाबी गरे । ‘प्रहरीले छड्के चेकजाँच गर्ने गरेको छ,’ उनले दाबी गरे, ‘बेलाबेलामा समान बरामद परेर जरिवाना पनि तिराएका छौं ।’ खानी सञ्चालकहरूले बाटामै खानी सञ्चालन गरिरहेका छन् । धूवाँ, धूलोले टीकाभैरव बस्तीमा बस्न नसक्ने अवस्था छ । भूक्षय, पहिरो, भिरालो जमिन बग्ने, माटो बगाउने तथा बाटो बन्द हुने सम्भावना छ । खानीबाट निस्केको माटो नल्लु र नख्खु खोलामा मिसाइएको छ । जसले जल प्रवाहमा परिवर्तन तथा पानीको उपयोगतामा असुविधा हुन सक्ने देखिएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics