नेपाली कृषिजन्य सामग्री निर्यात प्रभावित हुन सक्ने

वस्तु तथा सेवा कर (जीएसटी) को कार्यान्वयनसँगै भारतमा दैनिक उपभोग्य सामग्रीहरूको भाउ सस्तिएको छ । यसले नेपाली कृषिजन्य उत्पादनको भारतमा माग घट्ने सम्भावना देखिएको छ ।

बुधबारको कान्तिपुरमा कमलदेव भट्टराई लेख्छन्, जीएसटीको कार्यान्वयनसँगै दैनिक उपभोग्य सामग्रीमा यस अगाडि लाग्ने करलाई निकै घटाइएको छ । गरिब तथा न्यून आय भएका नागरिकहरूलाई लक्षित गरेर धेरै दैनिक उपभोग्य सामानमा करको दरलाई कम गरिएको र यसले सामान सस्तो हुने भारतीय अधिकारीहरूले बताएका छन् । जुलाई १ को मध्यरातिबाट भारतमा जीएसटी लागू भएको हो ।

यस अगाडि गहुँमा २.५ प्रतिशत कर लाग्ने गरेकामा जीएसटीले कुनै शुल्क नलाग्ने बनाएको छ । त्यसैगरी खुला चामल, खुला पिठो, दही, लस्सी, वटर मिल्क तथा महमा पनि कुनै शुल्क लाग्ने छैन । यस अगाडि यी सामग्रीहरूमा क्रमश २.७५, ३.५, ४ र ६ प्रतिशत कर लाग्ने गरेको थियो । चियापत्तीमा यस अगाडि ६ प्रतिशत लाग्ने गरेकामा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ । दूध पाउडरमा पनि त्यही परिणाममा घटाइएको छ ।

चिनीको यस अगाडिको ६ प्रतिशत करको दरलाई १ प्रतिशत विन्दुले घटाएर ५ प्रतिशत कायम गरिएको छ । त्यसैगरी खानेतेल तथा तरकारीमा प्रयोग हुने मसलाहरूमा यस अगाडि ६ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ । यसबाट यी सामान केही सस्तिएका छन् ।

मिनरल वाटरमा यस अगाडि २७ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई घटाएर १८ प्रतिशत कायम गरिएको छ ।

त्यसैगरी बच्चाहरूको तस्बिर तथा अन्य ‘ड्रइङ’ सामानहरूमा यस अगाडि ७ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई कर नलाग्ने बनाइएको छ । एलईडी बल्बमा यस अगाडि १५ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ । एक्सरेका लागि प्रयोग हुने सामान तथा शल्यक्रियाका लागि प्रयोग हुने सामानहरूमा यस अगाडि क्रमश २३ र १६ प्रतिशत कर लाग्दै आएकामा त्यसलाई घटाएर दुवैमा १२ प्रतिशत कायम गरिएको छ ।

हातले लुगा सिउने मेसिनमा यस अगाडि १६ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई घटाएर १२ प्रतिशत कायम गरिएको छ । टाउकामा लगाउने तेलमा यस अगाडि २७ प्रतिशत कर लगाउने गरिएकामा त्यसलाई घटाएर १८ प्रतिशत कायम गरिएको छ । साबुनमा यस अगाडि लाग्दै आएको २७ प्रतिशत करलाई घटारएर १८ प्रतिशत कायम गरिएको छ भने चप्पल तथा जुत्तामा लाग्दै आएको २१ प्रतिशत करलाई १८ प्रतिशतमा झारिएको छ ।

बच्चाहरूको स्कुल ब्यागमा यस अगाडि २२ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई अहिले १८ प्रतिशत कायम गरिएको छ । हेल्मेटमा यस अगाडिको २० प्रतिशत करलाई १८ प्रतिशत र सिमेन्टको २९ प्रतिशत करलाई २८ प्रतिशतमा झारिएको छ । साना बच्चाहरू बोकरे हिँड्ने सामानहरूमा यस अगाडि २७ प्रतिशत कर लाग्ने गरेकामा त्यसलाई १८ प्रतिशतमा झारिएको छ ।

तर, ब्रान्डेड तथा प्याक गरिएका केही खाद्यान्नमा कर बढेको छ । बिलासिताका सामानहरूमा कर बढाइएको छ ।

यी सामान भारत निर्यात गर्दा नेपाली उत्पादन प्रतिस्पर्धी बन्नुपर्नेछ । भारतमा सामान सस्तिएकाले नेपालबाट पनि कम मूल्यमा पठाउन सके मात्रै माग रहनेछ । भारतभरि नै एकै दर लाग्ने भएपछि एक राज्यका लागि बिल गरेर अर्कोमा बेच्न अब कठिन हुनेछ । केही नेपाली व्यवसायीले कम दर भएको राज्यमा बिल गरेर बढी माग भएको राज्यमा बेच्ने गरेका थिए । त्यो अब रोकिनेछ ।

भारतमा दैनिक उपभोग्य तथा अन्य सामानहरू सस्तो हुने भएपछि नेपालमा त्यसको सकारात्मक तथा नकारात्मक असर गर्छ भन्ने विषयमा भने विस्तृत अध्ययनपछि मात्र भन्न सकिने सरकारी अधिकारीहरूले बताएका छन् ।

भारतमा रहेका प्रत्येक सामानको मूल्यको अध्ययनले मात्र के असर गर्छ भन्ने सकिने अधिकारीहरूको भनाइ रहेको छ । तर, अझै पनि भारतमै यसको कार्यान्वयमा बजारमा विभिन्न खाले समस्याहरू देखिएकाले पूरै प्रभाव देखिन केही समय लाग्ने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics