रेडपान्डा जोगाउन जंगलमा कर्फ्यू



इलामको सन्दकपुर र रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा सर्वसाधारणका लागि प्रवेशमा रोक लगाइएको छ । रेडपान्डा पाइने यी क्षेत्रमा होहल्ला र अवरोध नहोस् भन्नका लागि स्थानीय बासिन्दाले सूचना टाँस गरी कर्फ्यू लगाएका हुन् । ती जंगल क्षेत्रमा घाँस दाउरा गर्न र प्रवेश गर्न पुर्ण प्रतिबन्ध लगाइएको छ ।

इलामको सन्दकपुर गाउँपालीकाको चोयाटार नेपाल र भारतको सिमानामा पर्छ । पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको चोयाटार सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ ।

रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् तीन महिनासम्मका लागि पर्यटक र स्थानीयवासीलाई वन क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको हो । भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्कले पनि सुचना जारी गर्दै यो अवधिमा उक्त क्षेत्रमा पर्यटक आवागमनमा रोक लगाएको छ ।

रसुवाकाे लाङटाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्रमापनि रेडपान्डाको प्रजनन अवधिका लागि सो क्षेत्रमा पर्यटक र स्थानीयको आवतजावतमा कडाई गरिएको छ । साथै स्थानीय बासिन्दाका लागि वन क्षेत्रमा घाँस दाउरा संकलनमा समेत रोक लगाइएको छ ।

रेडपान्डाको लागि यो समय प्रजनन र यौन क्रियाकलापको समय भएकाले यिनीहरुको प्रजनन अवस्था राम्रो बनाउन र यिनीहरुको संख्या बृद्धि गराउन मानवीय क्रियाकलापमा प्रतिबन्ध लगाइएको हो ।

दुई हजार दुई सय मिटरदेखि चार हजार मिटर उचाइसम्मको १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रम रहेको स्थानमा यसको बासस्थान रहेको हुन्छ । गुराँस, मालिङ्गो, निगालोको जङ्गल र पानीको मुहान नजिक भएको स्थानमा यिनीहरु बस्ने गर्छन् ।

एक्लै बस्न रुचाउने रेडपान्डा मानिस देख्दा झन् रोचक ढङ्गले हेरिरहने गर्छ । यिनीहरुले आहारका रूपमा मालिङ्गो र निगालोको पात र यसका टुसा प्रयोग गर्ने गर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics