जहाँ पैसा तिरेर बाटो हिँडिन्छ

फाइल फाेटाे


बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भनेको सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर अनौठो नमान्नुस्, जाजरकोट जिल्लामा लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लाको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्दै आइरहेका छन् ।

नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा भत्किएको बाटो समयमै निर्माण नहुँदा त्यहाँ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका हुन् । कडा चट्टान र भिरालो जमिन भएको यस ठाउँमा बाटो भत्किएपछि मर्मत नहुँदा दैनिक सय भन्दा बढी यात्रु यात्रा गर्न पैसा तिरेरै नजिकका स्थानीयको शरणमा पर्दै बाटो पार गर्ने गरेका छन् ।

पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे रु २०० देखि ५०० सम्म रकम स्थानीयलाई बुझाएर उनीहरुको साथ र सहयोगमा हिड्न बाध्य छन् ।

बाटो पार गर्नका लागि डोरीको प्रयोगदेखि चट्टानमा उम्रिएका खरको सहारा लिनुपर्ने बाध्यता रहेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले जथाभावी बाटो भत्काएर बनाएको नयाँ बाटोमा मानिससम्म हिँड्न मिल्ने अवस्था छैन । यो बाटोमा माथिबाट ढुङ्गा खस्ने भएकाले अत्यन्त जोखिमयुक्त बाटोको रुपमा लिइँदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics