यसरी हुन्छन् वन्यजन्तु घाइते

फाइल फाेटाे

‘मानव सिर्जित समस्याका कारण वन्यजन्तु घुमफिर गर्दा बढी घाइते हुने गरेका छन् ।’

२०७२ साल फागुनमा बाँके राष्ट्रिय निकुञ्जमा ७ वर्षको पोथी चित्तल बच्चासहित पानी खान सिक्टा सिंचाइको नहरमा पस्यो । नहरबाट बाहिर आउन नसक्दा खुट्टामा चोट लाग्यो र घाइते भयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा २०७२ साल चैत २३ गते दश वर्षको गैंडाको पछाडि पट्टीको भागमा रगत बगिरहेको अवस्थामा हलखोरिया क्षेत्रमा भेटियो ।

बाँके निकुञ्जमै त्यही वर्ष माघ २० गते एक वर्षको पोथी बंदेल घरपालुवा कुकुरको आक्रमणले घाइते भयो । उपचारकै क्रममा मृत्यु भयो प्राविधिकहरुले बचाउन सकेनन् ।

२०७२ साल फागुनमा लाङटाङ राष्ट्रिय निकुञ्जमा पोथी रतुवा तारमा अल्झिएर घाइते अवस्थामा जिल्ला प्रहरी कार्यालयमा फेला परेको थियो ।

देशका धेरै निकुञ्ज तथा संरक्षण क्षेत्रहरूमा यसै गरी वन्यजन्तु घाइते हुने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७२/७३ मा संरक्षित क्षेत्रभित्र मात्रै ६४ वन्यजन्तुको घाइते भएका छन् । घाइतेमध्ये धेरै बदेल र अरू साना जनावर भेटिन्छन् । कतिपयको उपचार अभावमा मृत्यु हुन्छ भने समयमै भेटिएर बचेका उदाहरण पनि छन् ।

जसमध्ये सबैभन्दा धेरै पर्सा राष्ट्रिय निकुञ्जमा ३८ वटा जनावर घाइते भएका थिए । जसमा ३० वटा चित्तल ३ वटा निर बिरालो, जङ्गली हात्ती, ठुलो धनेश, गैंडा र वन बिरालो लगायतका जनावर रहेका छन् ।

तर सरकारले वन्यजन्तुमैत्री विकास नीतिमा ध्यान नदिदा वन्यजन्तु घाइते हुने र मर्ने क्रम बढिरहेको छ । बाटो बनाउदा वा अन्य विकासका काम गर्दा वन्यजन्तुमैत्री बनाउनेतर्फ सरोकारवालाको ध्यान गएको देखिँदैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता नारायण रुपाखेतीका अनुसार, पूर्व पश्चिम राजमार्गको हेटौडा-पथ्लैया र पथ्लैया-निजगढ सडक खण्डको बिचमा फैलिएको निकुञ्जमा वन्यजन्तु ओहोरदोहोर गर्दा धेरै घाइते हुने गरेका छन् । उनले भने , ‘मानव सिर्जित समस्याका कारण वन्यजन्तु घुमफिर गर्दा बढी घाइते हुने गरेका छन् ।’

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा २ वटा वन्यजन्तु घाइते भएका छन् । जसमध्ये एउटा नाउर र एउटा चरी बाघ रहेको छ । यसै गरी शुक्लाफाँटामा चारवटा वन्यजन्तु घाइते भएका छन् । जसमध्य दुईवटा अजिङ्गर, दुई चित्तल घाइते भएका छन् ।

त्यस्तै शिवपूरी नागर्जुनमा चारवटा वन्यजन्तुको मृत्यु भएको छ । जसमध्ये तिन वटा चितुवाको र एक रतुवा घाइते भएको छ । यसै गरी बाँके राष्ट्रिय निकुञ्ज १० वटा वन्यजन्तु घाइते भएका छन् । जसमध्ये ८ वटा चितल , एक रतुवा र एक चितुवा रहेका छन् ।

कृष्णसार संरक्षण क्षेत्रमा एक रतुवा घाइते भएको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रमा एक ब्वांसो घाइते भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज दुई वन्यजन्तु घाइते भएका छन् । त्यस्तै गैरीशंकर संरक्षण क्षेत्रमा एक रतुवा घाइते भएको छ । बर्दिया राष्ट्रिय निुकञ्जमा एउटा अजिङ्गर घाइते भएको छ ।

सामान्य घाइतेलाई उपचार गरेरे निकुञ्जमा छोड्ने काम त्यहीको भेटनरी डाक्टरले गर्ने गरेका छन् । गम्भीर घाइतेलाई पहुँच भएसम्म सदर चिडियाखानामा उपचारका लागि पठाइन्छ ।

तराईलाई केन्द्रित गरेर चितवन राष्ट्रिय निकुञ्ज सौराहमा वन्यजन्तु अस्तपताल बन्दै छ । त्यस्तै राष्ट्रिय प्रणि उद्यान भक्तपुरमा वन्यजन्तु उपचारको लागि पूर्वाधार निर्माणको प्रक्रिया सुरु भइसकेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics