उपत्यकामा भित्रिने गाेलभेँडा र काउलीमा अत्याधिक विषादी



उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौँ । कान्तिपुरमा राजु चौधरी लेख्छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाई कालिमाटीको संयुक्त अनुगमन टोलीले उपत्यकाका चार नाकामा गरेको अनुगमनमा यस्तो फेला परेको हो ।

अनुगमन टोलीले मंसिरदेखि जेठ महिनासम्म अनुगमन र नमुनाको संकलन गरी बायो ऐसेस विधिबाट विश्लेषण गरेको थियो । त्यसक्रममा गोलभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला पारेको हो । विभागका सहप्रवक्ता मदनकुमार चापागाईका अनुसार काउली, गोलभेंडा, आलु, बोडी, करेलालगायत १२ प्रकारको तरकारीमा अनुगमन गरेको थियो । त्यसमध्ये १ सय ३१ नमुना संकलन र विश्लेषण भएको उनले बताए ।

‘थानकोट, बालाजु, जगाती, दक्षिणकाली नाकामा संकलन गरिएका तरकारीमध्ये गोलभेंडा र काउलीमा बढी इनिमेसन (बिषादीको परिमाण) अत्याधिक प्रयोग भएको देखिएको छ ।

विभागले तयार पारेको प्रतिवेदनअनुसार चौताराबाट जगाती नाका हुँदै उपत्यका भित्रिएको गोलभेंडामा ५७.५ प्रतिशत इनिमेसन फेला परेको थियो । पाँचखालबाट भित्रिएको काउलीमा ५२.४ प्रतिशत इनिमेसन फेला परेको जनाइएको छ । टोलीले उक्त नाकामा मंसिर २३ गते अनुगमन गरी १२ प्रकारका तरकारीको नमुना परीक्षण गरेको थियो ।

विभागले मंसिरदेखि जेठसम्म गरेको अनुगमनको आधारमा यो तथ्य सार्वजनिक गरेको हो । फागुन १० मा धादिङबाट थानकोट भित्रिएको काउलीमा ६३.८ प्रतिशत र पाँचखालबाट भित्रिएको गोलभेंडामा ६६.८ प्रतिशत इनिमेसन फेला परेको सहप्रवक्ता चापागाईले बताए ।

निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माका अनुसार ३५ प्रतिशत इनिमेसन रेट भएका खाद्य वस्तु मात्र सहज रूपमा खान मिल्छ । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य भए पनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भएमा खान मिल्छ ।

बच्ने उपाय


विषादीबाट बच्न सजिला घरेलु उपायहरू छन् । तरकारी पकाउनुअघि पानीमा करिब १५ देखि २० मिनेट राख्नुपर्छ । पानीमा आयोनुन राख्नुपर्छ । आयोनुनले विषादी नष्ट गर्छ । करिब २० मिनेटपश्चात् ६० देखि ८० प्रतिशत विषादी नष्ट हुने जानकारहरू बताउँछन् । त्यसपश्चात् तरकारी पूर्ण रूपमा खानयोग्य हुन्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics