चितवन निकुञ्जको संरचना नबिगार्न आग्रह



युनेस्कोको पोल्यान्डमा भएको ४१ औं बैठकमा विश्व सम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जभित्र भइरहेको भौतिक संरचनालगायत विकास निर्माणले प्रवेश पाएको छ ।

यो खबर हामीले विहीबारको कान्तिपुरबाट लिएका हौँ । विहीबारको कान्तिपुरमा अब्दुल्लाह मियाँ लेख्छन्, यसै साता सम्पन्न युनेस्को विश्व सम्पदाको ४१ औं बैठकमा युनेस्कोका अधिकारी र विश्वसम्पदाका विज्ञहरूले चितवन राष्ट्रिय निकुञ्जभित्रको जैविक विविधता, वन्यजन्तुको बासस्थान र संरचना खल्बलिने गरी भौतिक संरचना निर्माण अघि बढेकामा चिन्ता व्यक्त गरेका हुन् ।

बैठकमा युुनेस्कोले चितवन निकुञ्जभित्र भइरहेका भौतिक संरचना सम्बन्धी चासो राखेको पोल्यान्डको क्राकाउमा भएको ४१ औं बैठकमा भाग लिएर फर्किएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।

युनेस्कोका अधिकारी र विशेषज्ञहरूले पटक–पटक चितवन निकुञ्जको संरचना नबिगार्न नेपाली टोलीसमक्ष आग्रह गरेका थिए । बैठकमा विभागबाट महानिर्देशक खड्का र विष्णुप्रसाद श्रेष्ठसहित पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल सहभागी थिए । बर्सेनि हुने युनेस्कोको ४१ औं बैठक बुधबार सकिएको थियो ।

यसअघि विश्व सम्पदामा सूचीकृत चितवन निकुञ्जभित्र भइरहेको र हुन लागेको भौतिक संरचना तथा ठूलाखाले संरचना निर्माणसम्बन्धी युनेस्को मुख्यालयबाट आएको उच्चस्तरीय टोलीले दुईपटक अनुगमन गर्दै जैविक विविधता, वन्यजन्तुमा खलल पुर्‍याउने कुनै पनि संरचना अघि नबढाउन सुझाव दिएको थियो । पोल्यान्ड बैठकमा पनि निकुञ्जभित्र निर्माण भइरहेका र हुन लागेका ठूला सडक, हुलाकी मार्ग, रेल मार्ग, मोटरेबल बेलिब्रिजलगायत संरचना सम्बन्धी चासो राखेको महानिर्देशक खड्काले बताए ।

नेपाली प्रतिनिधिले युनेस्कोको सुझावअनुसारै निकुञ्जभित्र भौतिक संरचना निर्माणका लागि सरोकारवाला मन्त्रालयहरूसँग पहलकदमी भइरहेको भन्दै युनेस्को अधिकारीलाई आश्वस्त पारेका थिए ।

विश्वमै दुर्लभ एकसिंगे गैंडा र पाटेबाघलगायत वन्यजन्तुको संरक्षणमा चितवन निकुञ्ज अग्रणी भएको भन्दै युनेस्कोले निकुञ्जको बासस्थान खल्बलिने गरी हुने विकास निर्माण र भौतिक संरचना रोक्ने काममा अग्रणी भूमिका खेल्न नेपाल सरकारसमक्ष पुनस् आग्रह गरेको छ ।

युनेस्कोले प्रश्न उठाएपछि निकुञ्जभित्रबाट प्रस्ताव गरिएको पूर्व–पश्चिम विद्युतीय रेल निकुञ्ज बाहिरबाट निर्माण हुने गरी प्रक्रिया अघि बढेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics