अहिले सम्म ५० प्रतिशत मात्रै रोपाइँ



यो वर्ष असार सकिन लाग्दा पनि देशभर ५० प्रतिशत मात्रै रोपाइँ भएको छ । मुख्य अन्न भण्डार तराइमा ४० प्रतिशत मात्र रोपाई भएको छ । ढिलो रोपाई हुँदा धानको बाला नझुक्ने र उत्पादनमा समेत असर पर्ने देखिएको छ ।

कृषि विकास मन्त्रालयका अनुसार विहिबार सम्म तराइमा ४० प्रतिशत पहाडमा ५२ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत रोपाइँ सकिएको छ । सरकारले यो वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने महत्वकांक्षी लक्ष्य राखेको छ ।

धान विज्ञ भोलामान सिंह बस्नेतका अनुसार पहाडी भुभागमा धान रोप्न ढिला हुँदा धानको बाला नझुक्ने समस्या हुन्छ, जसले गर्दा उत्पादनमा समेत कमी आउन सक्छ । यद्यपी तराई क्षेत्रमा भने धान रोप्ने समय प्रशस्तै रहेको छ ।

धान रोप्ने सुरुवातको समयमा मनसुन सक्रिय नहुँदा ढिलो गरी रोपाइँ सुरु भएको थियो । नेपालका अधिकांश भुभागमा सिँचाईको सुविधा नभएका कारण किसानहरु आकासे पानीको भरमा धान रोप्दै आइरहेका छन् । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले भने, ‘अहिले रोपाइँ हुने क्रम बढीरहेको छ । मुलुकभर ५० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।’

प्रवक्ता कार्की भन्छन्, यो वर्ष धान रोपाइँ हुने कुल भुभागको ९० प्रतिशत भुभागमा मात्र रोपाइँ हुने देखिएको छ । मन्त्रालयका अनुसार नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइँ हुँदै आइरहेको छ । जसमध्ये अहिले सम्म ७ लाख ६२ हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । चालू आर्थिक वर्ष २०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो अहिलेसम्मकै धेरै उत्पादन हो ।

उत्पादन बढे पनि नेपालमा हरेक वर्ष अर्बौँको चामल आयात हुने गरेको छ । चालु आर्थिक वर्षमा पनि नेपालमा भारत, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट ३ लाख ५९ हजार मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको छ ।

सरकारले धानमा आत्म निर्भर बनाउनका लागि प्राथमिकताका साथ विभिन्न कृषि परियोजनाहरु सञ्चालनमा ल्याइरहेको छ । धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालू आ.व. २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ । यो परियोजनाअन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबालीलाई समावेश गरी धान उत्पादन बढाउन कार्ययोजना तयार गरिएको छ ।

हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धानको खेती हुँदै आएको छ । नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५० दशमलव २ प्रतिशत जग्गामा धानको खेती हुन्छ । जसमध्ये तराईमा ६९ दशमलव १ प्रतिशत, पहाडमा २६ दशमलव ८ प्रतिशत र उच्च पहाडमा ४ दशमलव १ प्रतिशत हेक्टरमा धानको खेती हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics