चोरी सिकार शून्य भएपछि बर्दीयामा गैंडा बढे

फाइल फाेटाे


आठ वर्षयता बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी सिकार शून्य भएपछि गैंडाको संख्या पनि बढदै गएको छ । शुक्रबारको कान्तिपुरमा कमल पन्थी लेख्छन् द्वन्द्वको समयमा चोरी सिकार अत्यधिक हुँदा गैंडा लोप हुने स्थितिमा पुगेको थियो । बर्दिया निकुञ्जको गेरुवा तटीय क्षेत्रमा २ बच्चासहित ३० र बबई उपत्यकामा १ बच्चासहित ८ गरी ३८ गैंडा छन् ।

बबई उपत्यका क्षेत्र गैंडाको उचित बासस्थान मानिन्छ । आठ वर्षको अवधिमा बर्दिया निकुञ्जमा गैंडाका चोरी सिकार शून्य भएको निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

सन् १९८४ मा पहिलोपटक चितवन निकुञ्जबाट बर्दियाको गेरुवा र कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडा स्थानान्तरण सुरु गरिएको थियो ।

चितवनबाट बर्दिया स्थानान्तरण गरिएका ८३ मध्ये द्वन्द्वकालमा चोरी सिकारबाट ३६ र प्राकृतिक कारणले २४ मारिएका थिए । दुई वर्ष अवधिमा चितवन निकुञ्जबाट आठ गैंडा स्थानान्तरण गरिएको छ । तीमध्ये दुईले बच्चा जन्माएको निकुञ्जले जनाएको छ । ती बच्चालाई गत वर्ष माघमा बाघले मारेको थियो । त्यस्तै वयस्कको गत वर्ष फागुन १९ गते बिरामीका कारण मृत्यु भएको थियो ।

तीन वर्षभित्र ३० गैंडा बर्दिया स्थानान्तरण गरिने योजना छ । वर्षमा १० वटाका दरले स्थानान्तरण हुने भनिए पनि प्राविधिक कारणले हुन नसकेको जनाइएको छ । चितवनबाट ल्याइएका गैंडाको घाँटीमा जीपीएस रेडियो कलर जडित भएकाले चरिचरण गरेको स्थानबारे निकुञ्जलाई जानकारी हुन्छ । यसैगरी स्थानान्तरण गरिएका गैंडाका दैनिक अनुगमनका लागि निकुञ्जसँग समन्वय गरी राष्ट्रिय प्रकृति संरक्षण कोषले ६ जना प्राविधिक टोली खटाएको छ ।

चालु आवमा बसको ठक्करबाट एक बाघसहित ९१ वन्यजन्तु मारिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics