‘प्लाष्टिककाे चामल नै छैन’



काठमाडौंमा भेटिएकाे भनिएकाे प्लाष्टिककाे चामल नभएकाे पुष्टि भएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको हाे ।

काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यस सम्बन्धी बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो ।

परिसरका प्रमुख एसएसपी छविलाल जोशीले परीक्षणमा चामलमा प्लाष्टिक नभेटिएको पुष्टि भएपछि गोदाममा गरिएको सील खोलिदिने बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics