चितवनमा घातक बाघको संख्या बढे

तस्विर : सागर गिरी


चितवन राष्ट्रिय निकुञ्जमा भएका १२० मध्ये करिब दुई दर्जन बाघ मान्छेका लागि घातक रहेको एक अध्ययनले देखाएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौँ । आइतबारको कान्तिपुरमा अब्दुल्लाह मियाँ र शिव पुरी लेख्छन्, २००७ देखि २०१६ सम्म चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिएको अध्ययनले मान्छे र पशु मार्ने तथा आक्रमण गर्ने बाघ २२ देखि २५ को हाराहारीमा भएको अध्ययनले देखाएको हो ।

चितवनमा मान्छे र पशुलाई आक्रमण गर्ने बाघ कति छन् भनेर चितवन निकुञ्जका भेटेरिनरी चिकित्सक कमल गैरे, राष्टिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख चिरञ्जीवी पोखरेल, बाबुराम लामिछाने र कोषका नरेश सुवेदीलगायतले अध्ययन गरेका थिए । लामिछानेले चितवन निकुञ्जमा मानव र बाघ तथा चितुवाबीचको असमझदारी (द्वन्द्व) सम्बन्धी नेदरल्यान्ड र बेल्जियमबाट विद्यावारिधी पनि गरिरहेका छन् ।

अध्ययनले सबै बाघ घातक नभएको पाइएको अनुसन्धानकर्तामध्येका एक लामिछानेले बताए । लामिछानेका अनुसार घाइते, अशक्त, बुढा, आहार खोज्न नसक्ने र अरू बलिया बाघसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका बाघले मात्र मान्छे र पशुलाई आक्रमण गर्ने तथा मार्ने गरेका छन् ।

‘आफ्नो बासस्थानमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि त्यस्ता बाघ आहारका लागि बस्ती वरिपरि आउने गरेको पाइन्छ,’ लामिछानेले भने, ‘मान्छे र पशुमाथि आक्रमण गर्नु उसको प्राकृतिक आनीबानी होइन, त्यसैले सबै बाघ समस्याग्रस्त हुँदैनन् र छैनन् पनि ।’

प्राकृतिक बासस्थानमा आफ्नो पकेट क्षेत्र बनाउन नसकेका र मान्छे वा पशु खाएर बानी परिसकेका बाघले मात्र समस्या निम्त्याउने गरेको पाइएको लामिछानेले उल्लेख गरे । एउटा बाघले १५ देखि ४० वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाएर बस्छ । आफ्नो क्षेत्रमा सिकार गर्न असक्षम भएमा वा आहारको उपलब्धता कम भएपछि ती बाघ मानवीय बस्तीतिर आकर्षित हुने गरेको जानकारहरू बताउँछन् ।

मध्यवर्ती क्षेत्रका सामुदायिक वन वा बस्ती आसपासमा नियमित रूपमा अनुमगन र निरीक्षण गरी समयै निकुञ्ज प्रशासनलाई जानकारी दिए सम्भावित दुर्घटना रोक्न सकिने लामिछाने बताए ।

घातक खालका मध्ये १३ वटालाई नियन्त्रणमा लिएर सदर चिडियाखाना वा निकुञ्जको खोरमा राखिए पनि अझै चितवन र नवलपरासीका मध्यवर्ती क्षेत्र र आसपासका बस्तीमा मान्छे मार्ने अरू पनि धेरै त्यस्ता बाघ छन् । यो वर्ष चितवनमा भन्दा नवलपरासी क्षेत्रमा बाघको आक्रमण बढी भएको देखिन्छ ।

लामिछानेका अनुसार समस्या निम्त्याउनेमध्येकै ४ बाघलाई चितवनभन्दा अन्यत्रै लगेर छाडिएको छ । तर, त्यस्ता बाघको अनुगमन हुन नसक्दा संत्रास कायमै छ । पछिल्लो तथ्यांकलाई विश्लेषण गर्दा मानव र बाघबीचको दन्द अझैं चर्किने विश्लेषण लामिछानेको छ । बाघको संख्या बढदो क्रममा छ । यसै वर्षको अन्त्यदेखि बाघको राष्टिय गणना पनि हुनेछ ।

निकुञ्जले ९ वर्षयताको अवधिमा चितवन र नवलपरासीका विभिन्न स्थानमा २० मान्छे मारिसकेको ‘नंग्रा पोथी’ नामको बाघलाई अझै नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जको भित्री भाग (कोर एरिया) मा पनि बाघले मान्छेमाथि आक्रमण गर्नेक्रम बढेको छ । त्यस्ता बाघको नियमित अनुगमन हुन नसक्दा समस्या बढेको स्थानियको बुझाइ छ ।

कोषको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख चिरञ्जीवी पोखरेल समस्या निम्त्याउने वन्यजन्तुको नियन्त्रणका लागि आफूहरूले प्राविधिक परिचालन गरी निकुञ्जलाई सहयोग गरिरहेको बताउँछन् । समस्या निम्त्याउने वन्यजन्तुलाई केन्द्रका वन्यजन्तु प्राविधिकमार्फत लठ्याएर (डार्ट गरेर) नियन्त्रणमा लिई अन्यत्रै स्थानान्तरण गर्ने गरिएको छ ।

यसै वर्षदेखि सरकारले वन्यजन्तु आक्रमणबाट ज्यान गुमाएकाहरूका परिवारलाई १० लाख रुपैयाँ राहत दिन थालेको छ । यस्तै, घाइते र घर, गोठ भत्काएमा पनि सर्वसाधारणले राहत पाउछन् । निकुञ्जको कोर एरियामै वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएको अवस्थामा भने राहत पाइँदैन । निकुञ्जको कोर एरियाभित्र प्रवेश गर्नु नियमविपरीत हो ।

चितवन निकुञ्जका सुचना अधिकारी एवं सहायक वार्डेन नुरेन्द्र अर्यालका अनुसार यो वर्ष गैंडा, बाघ र हात्तीको आक्रमणबाट मध्यवर्ती क्षेत्रका वस्ती आसपासमा १५ जनाको ज्यान गयो । तीमध्ये सबैभन्दा बढी बाघको आक्रमण भएको छ । एक वर्ष अवधिमा बाघले ४० वटा पशु मारेको निकुञ्जको रेकर्ड छ ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तु आक्रमणमा परी २०६६ असार २१ देखि २०७२ पुससम्मको ६ बर्षमा ५७ जनाको मृत्यु भएको देखिन्छ । आक्रमणमा घाइते हुने १ सय ३३ छन् । निकुञ्जको बाघको आक्रमणमा परी ६ वर्षयता जिल्लामा २४ जनाको ज्यान गएको छ । त्यस्तै, हात्तीबाट १९, गैंडाबाट ११, भालुबाट १, गौरीगाईबाट १, चितुवाबाट १ र बँदेलबाट एकको मृत्यु भएको निकुञ्जले जनायो । गैंडाको आक्रमणमा परी ५१ स्थानीय घाइते भए । त्यस्तै भालुबाट ३५, बाघबाट १९ हात्तीबाट ६, चितुवाबाट १ गौरीगाईबाट २ र बँदेलबाट १९ जना घाइते भएका थिए । सामुदायिक वन क्षेत्रमा घाँस दाउरा, चरन र झाडी फँडानी गर्न जाँदा गैंडा, हात्ती, बाघ, भालु, गौरीगाई, चितुवा, बँदेलको आक्रमण हुने गरेको छ । अधिकांश स्थानीयले सतर्कता अपनाउन नसक्दा घटना हुने गरेको मृगकुञ्ज सामुदायिक वनका अध्यक्ष वासु ढुंगाना बताउँछन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics