सडककाे खाल्डा पुर्न तीन सचिवलाई निर्देशन



सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश गरेको छ ।

यो खबर हामीले मंगलबारको नागरिक दैनिक बाट लिएका हौँ । मंगलबारको नागरिकमा खिलक बुढाथोकी लेख्छन्, संघीय मामिला तथा स्थानीय विकासका सचिव दिनेश थपलिया, भौतिक योजना तथा यातायातका सचिव देवेन्द्र कार्की र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलाई सडक निर्माणको काम गर्ने निकाय सक्रिय बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले जानकारी दिए । उनले १५ दिनभित्र सडकको दुरावस्था हटाउने प्रधानमन्त्रीको निर्देशनअनुसार नै काम अघि बढाएको बताए।

‘१५ दिनमै सडक चिल्लो बनिहाल्छ भन्ने त होइन’, सचिव घिमिरेले भने, ‘धेरै हदसम्म अहिलेको भन्दा सुधार हुनेछ।’ सडकको अवस्था सुधारका लागि आफूले स्थलगत निरीक्षणसमेत गरिरहेको बताउँदै सचिवहरूलाई पनि त्यहीअनुसार काम गर्न लगाएको उनले बताए।

गत शुक्रबार सामाखुसीमा १३ वर्षीया बालिका सत्या सापकोटा नालीको भेलमा बगेकी थिइन्। पछि उनको उद्धार गरिएको थियो। शुक्रबारै तारकेश्वर नगरपालिकामा विनिता फुयाँलको नालीको भेलमा बगेर ज्यान गएको थियो। यसपछि प्रधानमन्त्रीले आइतबार १५ दिनभित्र काठमाडौंका खाल्डा पुर्न, फुटेका ढल बनाउन, ढलेका बिजुलीका पोल गाड्न निर्देशन दिएका थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics