पहिरोको जोखिम बढेपछि बेनी–जोमसोम सडक राति बन्द गरिने

फाइल फाेटाे


पहिरोको जोखिम बढ्दै गएपछि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी चलाउन रोक लगाइने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई रोक्दै रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो ।

म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक र यातायात व्यवसायी समितिका प्रतिनिधिसमेत भई बसेको बैठकले विहिबारदेखि उक्त सडक खण्डमा रातको समयमा सवरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।

बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५ः३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई साँझ ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडक भएर स्थानीयवासीका साथै ठूलो संख्यामा तीर्थयात्री र पर्यटक ओहोरदोहोर गर्ने गरेका छन् ।

गलेश्वरदेखि दानासम्मको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics