भूकम्प पीडितलार्इ अनुदान रकम लिन असार मसान्तकाे म्याद

 

सरकारले भुकम्पपिडीतहरुले प्राप्त गर्ने अनुदान रकम आगामी असार मसान्तसम्म लिइसक्नुपर्ने व्यवस्था गरेको छ । अनुदानको रकम लिने विभिन्न समयसीमा तोक्दै ०७५ असारपछि अनुदान रकम वितरण नगर्ने निर्णय प्राधिकरणले गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलका अनुसार कानुनी अडचनबाहेकका अवस्थामा घर पुनर्निर्माणका लागि ०७५ भित्रै अनुदान लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

पुनर्निर्माण प्राधिकरणले जग्गाको लालपुर्जा नभएको, बस्ती स्थानान्तरण गर्न बाँकी रहेको, घरधनी विदेशमा रहेको, घरमूलीको मृत्यु भई कसको नाममा बनाउने अन्योल भएको, अंशबन्डा गर्न बाँकी रहेकालगायत बाध्यात्मक अवस्था र कानुनी अडचनबाहेक अन्यका लागी ०७५ असारपछि अनुदान वितरणमा रोक लगाइने बताएकोे छ ।

पिडीतहरु अनुदान रकम लिने र घर जहिल्यै बनाए पनि हुन्छ भन्ने मानसिकता रहेकाले पुनर्निर्माणमा तीव्रता ल्याउन यस्तो निर्णय गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रथम किस्ता रकम भने आगामी कात्तिक मसान्तभित्र लिन आग्रहसमेत गरेको छ । प्राधिकरणले पुनर्निर्माणको रकम लिइसक्नुपर्ने मिति निर्धारण गर्दै कुन कुन समयमा कुन कुन किस्ता लिइसक्नुपर्ने भन्ने व्यवस्था मिलाएको छ ।



निर्धारित तालिकाअनुसार पहिचान भएका सबै भूकम्प पीडितहरूले आगामी कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरी प्रथम किस्ता लिइसक्नुपर्ने छ।

२०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पुस मसान्तसम्म र आगामी कात्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने छ ।

२०७४ पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्ने छ । २०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने घरधनीले २०७५ असार मसान्तसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने गरी समयावधि निर्धारण गरेको छ ।

स्राेत : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण


सरकारले भूकम्पले क्षति भएको घर पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार रुपैयाँ, दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्तामा १ लाख लिन पाउने व्यवस्था गरेको छ ।

अनुदान सम्झौता गरी घर पुनर्निर्माणका लागि सुरुमा ५० हजार रुपैयाँ लिन पाइन्छ । सूचीकृत घर डिजाइनअनुसार जग निर्माणको काम सकेपछि डेढ लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ । छाना छाउनुअघि अन्तिम अर्थात् तेस्रो किस्ताको एक लाख रुपैयाँ उपलब्ध हुने व्यवस्था गरिएको छ । यी तीनवटै किस्ता ०७५ को असार मसान्तभित्र लिइसक्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको हो ।

स्राेत : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण


पछिल्लो तथ्याङ्कअनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरीमध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसके पनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् ।

भूकम्प गएको २ आर्थिक वर्ष वितिसक्दा पनि पुनर्निर्माणको कार्य भने प्रभावकारी बन्न सकेको देखिँदैन । दुई आर्थिक वर्षमा गरी सरकारले १ खर्ब ९४ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्न अख्तियारी दिई सकेको भए पनि हालसम्म ४१ अर्ब ६२ करोड रुपैयाँ मात्र खर्च भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics