तरकारी बजारमा ठेकेदारी व्यवस्थाकाे विराेध



भरतपुर महानगरपालिकाले लायन्स चोकमा रहेको फलफुल तथा तरकारी बजारमा ठेकेदारी व्यवस्था लागु गर्न लागेकोमा नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघले विरोध गरेको छ ।

ठेक्का बन्दोबस्ती सम्बन्धी आधारको व्यवहारिक प्रयोग कृषि बजारमा सम्भव नभएको भन्दै यस किसिमको व्यवस्था स्वीकार्य नहुने महासंघले जनाएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि बजारले कृषक र निम्न आय भएका व्यक्तिहरूको व्यवसायलाई सहयोग पुर्याइरहेको भन्दै यसलाई ठेक्का प्रणलीमा लैजान नहुने महासंघका अध्यक्ष खोम प्रसाद घिमिरेले बताए । उनले भने नेपालमा उपयुक्त कृषि बजार ऐनको व्यवस्था नहुँदा यस प्रकारको समस्या आएको हो ।

महासंघले महानगरपालिकाको यस्तो निर्णय बजारको स्तरोन्नति गरी व्यवस्थित बजारको निर्माण गर्नु नभई भएको कृषि बजारलाई मास्ने योजना भएको आरोप समेत लगाएको छ ।

यो बजारमा २ करोड ५० हजार भन्दा धेरै दैनिक कृषि सामग्री कारोबार हुँदै आइरहेको छ । दैनिक ५ सय टन तरकारी र ३ सय टन फलफुल बिक्री हुने गर्छ ।

२०५० सालमा तत्कालीन भरतपुर नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा केही स्टल निर्माण गरी सुरु भएको बजारमा अहिले ३ सय व्यवसायी कार्यरत रहेका छन् । अहिले महानगरपालिकाको ५७ र निजी क्षेत्रको १०० स्टल मार्फत् चितवन आसपासको १६ जिल्लाको फलफुल र तरकारीको माग धान्दै आइरहेको छ ।

३ वर्ष अघिमात्र यो क्षेत्रमा टेण्डरको प्रयासले २ लाख ९० हजार को भाडा बढेर ८ लाख ५० हजार पुगेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics