शुक्लाफाँटामा अहिलेसम्मकै धेरै पर्यटक

फाइल फाेटाे


यो वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले सम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । निकुञ्जमा आर्थिक वर्ष २०७३/७४ मा २ हजार ६ सय ४० पर्यटकले आवागमन गरेका छन् । जसमा महिला ९ सय ३५ र पुरुष १ हजार ७ सय ४० रहेको छ ।

जसमध्ये एक सय ३७ विदेशी , १ सय ३० सार्क राष्ट्रबाट र २ हजार तिन सय ७३ नेपाली पर्यटक रहेको निकुञ्ज कार्यालयले जनाएको छ । यो क्षेत्रमा सबैभन्दा धेरै फागुन महिनामा ४ सय ५९ पर्यटक भित्रिएका थिए । त्यसैगरी सबैभन्दा कंम साउन महिनामा ८ जना मात्र पर्यटकले भ्रमण गरेका थिए । गत आर्थिक वर्ष २०७२/७३ यो बन्यजन्तु आरक्ष क्षेत्र रहँदा १ हजार ९ सय २० पर्यटकले भ्रमण गरेका थिए ।

यो निकुञ्जले यो आर्थिक वर्षमा २ करोड ४५ लाख ६६ हजार ५ सय २८ कुल आम्दानी गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालका अनुसार आरक्ष क्षेत्र राष्ट्रिय निकुञ्ज बनेको र प्रचार प्रसार भएकाले पर्यटकहरु बढ्दै गएका छन् । ढकालले भने, आगामी वर्षमा झन धेरै पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।

निकुञ्ज आसपासमा होटलहरु सञ्चालनमा आउन थालेका छन् । ढकालले भने पर्यटकहरुलाई बसोबासका लागी सहजता हुने हुनाले आगामी दिनमा अझ बढ्न सक्छन् ।

नेपाल सरकारले २०७३ साल फागुन ९ गते राजपत्रबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो । सरकारले २०३१ साल (सन् १९७६) मा सुदूरपश्चिम कञ्चनपुरको दक्षिण पश्चिमस्थित नेपाल(भारत सिमानामा अवस्थित क्षेत्रलाई शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरेको थियो । आरक्षमा थप संरक्षणका लागि २०६१ साल (सन् २००४) मा २४३.५ वर्ग किलोमिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

यस निकुञ्जमा चितुवा, घोडगधा, जरायो, चित्तल, लगुनालगायत ५३ भन्दा बढी प्रजातिका स्तनधारी वन्यजन्तु  पाइन्छ। यसभित्र रानी ताल र अन्य ससाना तालमा मगर गोही प्रशस्त देख्न पाइन्छ। सारस, खरमयुर, सिमतित्रा, दुर्लभ भुँडीफोरसहित चार सय २४ भन्दा बढी प्रजातिका पक्षी पाइन्छन्। आरक्षभित्र बस्ती स्थानान्तरण र मुआब्जा वितरण तथा अत्यधिक चरिचरन यस निकुञ्जका प्रमुख समस्या रहेका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics