निकुञ्जका हात्तीसारेलाई १० लाखकाे बिमा

फाइल फाेटाे


चितवन राष्ट्रिय निकुञ्जमा हात्तीसारेको बिमा गरिएको छ । निकुञ्जमा पहिलोपटक हात्तीसारेको बिमा गरिएको हो । अब राष्ट्रिय निकुञ्जभित्र कुनै घटना भइहालेमा रु १० लाख पाउने व्यवस्था गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले हात्तीको स्याहार सम्भारका क्रममा कुनै घटना भैहाले हात्तीसारेदलाई रु १० लाख पाउने गरी बिमा व्यवस्था गरिएको बताए ।

निकुञ्जमा कुनै जंगली जनावरलाई नियन्त्रणमा लिन, वन र वन्यजन्तुको सुरक्षा गस्तिमा हात्तीको प्रयोग गरिन्छ ।

त्यही हात्तीको रेखदेख र सञ्चालनका लागि यहाँ हात्तीसारे राखिएको छ । नेपाल कै एकमात्र हात्ती प्रजनन् केन्द्र समेत चितवनको सौराहामा छ ।

यसअघि हात्तीसारेको कुनै घटना भएमा दुई लाख सम्म दिईने गरिएको थियो । अब उनीहरुको मृत्यु भएमा रु १० लाख पाईने र घाईते भएमा रु १० लाखसम्मको उपचार खर्च पाईने गरी प्रिमियम ईन्सुरेन्स कम्पनी नेपालमा बिमा भएको निकुञ्जले जनाएको छ ।

बिमा व्यवस्थाले हात्तीसारे खुसी


पहिलोपटक बिमा गरिएपछी निकुञ्जमा कार्यरत हात्तीसारे खुसि भएका छन् । अहिले निकुञ्जमा ११९ जना हात्तीसारे रहेको निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका छन् । उनका अनुसार १५५ जना दरबन्दी रहेको यहाँ हाल ११९ जना कार्यरत छन् ।

बिमाले हात्तीसारेलाई काममा लाग्न थप प्रेरणा मिल्ने विश्वास लिईएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार उनीहरुको प्रिमियम जुलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) को नेपाल कार्यालयले तिरेर बिमा गरिएको हो ।

जेडएसएल नेपालका कार्यक्रम व्यवस्थापक डा. भगवानराज दाहालले उनीहरुका लागि लाग्ने रु १ लाख ८१ हजार ५५७ रुपैयाँ बेहोरेको जानकारी दिए ।

चितवनसँगै नेपालका अन्य राष्ट्रिय निकुञ्ज तथा  संरक्षित क्षेत्रमा समेत बिमा भएको छ। हरेक बर्षको प्रिमियम उक्त संस्थाले नै तिरिदिने छ ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics