पासाङ ल्हामु यातायातले लगायो १५ वर्ष पुराना गाडी सञ्चालनमा रोक



पासाङ ल्हामु यातायात सेवा समितिले नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रमा सञ्चालन हुँदै आएका १५ वर्ष भन्दा पुराना यात्रुवहाक बसहरु सञ्चालनमा रोक लगाएको छ । पुराना गाडीहरु सञ्चालन गर्दा समस्या आउने भएकाले यात्रुहरुको सहजताका लागी १५ वर्ष भन्दा पुराना गाडी सञ्चालनमा रोक लगाइएको समितिले जानकारी दिएको छ ।

सरकारले सहरी क्षेत्रमा भने २० वर्ष पुराना गाडीमात्रै हटाउने निर्णय गरेको छ । तर पासाङ ल्हामु यातायात सेवा समितिले भने १५ वर्ष पुराना गाडीलाई नै सञ्चालनमा रोक लगाएको छ । समितिका महासचिव रवि रिमालले भने, 'समितिले यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै यो व्यवस्था लागु गरेका हो ।'

पुराना गाडीहरुले धेरै धुवाँ फाल्ने हुनाले वातावरण प्रदुषण समेत गरिरहेका हुन्छन् । उनले भने, 'पुराना गाडीहरुले बढी मान्छेबोक्दा दुर्घटनाको जोखिम समेत हुने भएकाले पुराना गाडी सञ्चालन नगर्न यो व्यवस्था लागु गरिएको हो ।'

उक्त समिति अन्तर्गत अहिले १ सय ७० वटा यात्रुवहाक बस सञ्चालनमा रहेका छन् । जसमा डेढ वर्षदेखि ३५ वटा नयाँ ठूला बस सञ्चालनमा रहेको रिमालले जानकारी दिए । समितिले अहिले त्रिसुली आसपास नगर एरियामा पासाङ ल्हामु नगर वस सेवा सञ्चालनमा ल्याएको छ । यस्तै समिति अन्तर्गत त्रिसुली देखि काठमाडौंसम्म १३ ओटा माइक्रोबस समेत सञ्चालनमा आइरहेका छन् ।

नुवाकोट रसुवा र धादिङको ग्रामीण सडक खण्डमा चल्ने यात्रुवहाक वसलाई व्यवस्थित वनाउन यस किसिको व्यवस्था लागु गरिएको हो । यो व्यवस्थाले यात्रुहरुलाई सवारीसाधनमा यात्रा गर्न सहज हुने समितिले जनाएको छ । साथै दर्घटना न्युनीकरणमा समेत यो व्यवस्था उपयुक्त हुने समितिले जनाएको छ । पुराना गाडीमा ब्रेकीङ सिस्टम लगायत अन्य कुराहरु कमजोर हुने निष्कर्ष निकाल्दै पराना सवारी साधन हटाउने निर्णय गरेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics