तीनसय वर्षपछि बाघ फेरि पहाडतिर

करिब तीनसय वर्ष पहिले नेपालको मध्य पहाडी भेगमा बाघहरु प्रशस्तै पाइन्थे । तराईदेखि उकालो लाग्ने बाघ मध्य पहाडका खास गरी चुरेका बाक्लो जंगलभित्र आहार खोज्दै घुम्थे । तराईमा चारकोशे झाडीदेखि शुक्लाफाँंटा राष्टिय निकुञ्जसम्म बाघ पाइन्थे ।

तर यो यर्थाथ अहिले एउटा कथाजस्तो भइसक्यो । पहाडमा बाघ पाइदैन भन्ने अनुसन्धानकर्ता र विज्ञहरुको संख्या बढ्दै गएको छ । चारकोशे झाडीमा बाघ नदेखिएको त वर्षौ भइसक्यो ।

सञ्चारमाध्यममा पहाडमा बाघ पाइएको समाचार आयो भने पनि बाघ होइन चितुवा हो भन्ने विशेषज्ञहरुको संख्या अहिले पनि ठुलो छ । बाघ तराईको संरक्षित क्षेत्रभित्र मात्रै पाइने धेरै तथ्यहरुले पुष्टि पनि गरेको छ । आक्कल झुक्कल संरक्षण क्षेत्रबाहिर बाघ भेटिने भने गरेका छन् । तर त्यसको गहिरो र विस्तृत अध्ययन भने भएको छैन ।

बाघ बचाउने बहस चलिरहदा संरक्षण प्रयासमा अहिले अर्को मोड थपिएको छ । नेपालमा बाघको निरन्तर अध्ययन अनुसन्धान गर्ने विज्ञहरुले अब बाघका लागि संरक्षित क्षेत्रबाहिर पनि सुरक्षित बासस्थान बनाउनुपर्ने धारणा अघि सारेका छन् ।

संरक्षित क्षेत्रभित्रमात्रै बाघको संरक्षण गरेर नपुग्ने निष्कर्ष निकाल्दै अब यो अभियान बाहिर र खास गरी चुरे पहाडसम्मै फैलाउनुपर्ने उनीहरूको निष्कर्ष छ । विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ) का संरक्षण विज्ञ कञ्चन थापाले बाघको बासस्थान र घुमफिरको घेरा फराकिलो बन्दै गएको बताए । उनले भने, ‘अब बाघलाई संरक्षण क्षेत्रभित्रै मात्रै जोगाउछु भनेर हुँदैन । हामी बाहिर पनि जानैपर्छ । त्यो भनेको चुरे पहाड र आसपासको क्षेत्र नै हो ।’

उनको यो भनाइका पछाडि तर्कहरू पनि प्रशस्तै छन् । संरक्षण क्षेत्रभित्र आहारको अभाव, बाघको संख्या बढ्दै जाँदा उनीहरूको घुमफिरका लागि आवश्यक पर्ने क्षेत्र खुम्चिदै जानु प्रमुख कारण हुन् । त्यतिमात्रै होइन तीनस वर्षकाबीचमा जंगलको प्रकृतिमामसेत ठुलो फेरबदल आएको छ जसले बाघलाई सांघुरो घेरमा खुम्च्याउदै लगेको छ ।

एउटा अध्ययनका क्रममा पछिल्लो पटक डढेलधुरामा बाघ पाइएपछि पनि संरक्षणकर्मीको नयाँ अवधारणालाई बल पुगेको हो ।

मूख्यगरी चुरिया क्षेत्रमा बाघको बासस्थान बढाउन सकिनेमा उनीहरूको जोडबल देखिन्छ । तराईका संरक्षण क्षेत्रसँग जोडिएका यी स्थानका बस्ती व्यवस्थापन गर्दै जंगल जोड्न सके बाघका लागि उपयुक्त स्थान हुनेछ ।

संरक्षणविज्ञ शिवराज भट्टका अनुसार, ७३ प्रतिशत जंगलले ढाकेको चुरे क्षेत्रसम्म संरक्षण क्षेत्रका बाघलाई जोड्न सके त्यो भन्दा उत्तम अरू विकल्प हुनेछैन । शुक्लाफाँंटा, बर्दीया तथा चितवन सबैलाई चुरेसम्म जाडेर बाघ संरक्षणको नयाँ अभियान थाल्नुपर्ने विज्ञहरुको निष्कर्ष छ ।

बाघको आवतजावतका लागि उपयुक्त ठानिएका आठ कोरीडोरलाई व्यवस्थित गर्ने योजना पनि सरकारसँग मिलेर विज्ञहरुले बनाइरहेका छन् ।

तर संरक्षण क्षेत्रभित्र सीमित बाघ संरक्षण बाहिर लैजाने भने त्यति सजिलो छैन । मूख्यगरी वन्यजन्तुको सुरक्षा त्यहाँको मुख्य चुनौती हो । बाटो तथा अन्य भौतिक संरचनासमेत वन्यजन्तुमैत्री नहुँदा समस्या हुने निश्चित छ । मानव वन्यजन्तु द्धन्द्ध तथा आहार बिहारको व्यवस्थापन झन् ठुला चुनौती हुन् ।

आगामी २०२० सम्म बाघलाई दोब्बर बनाउने र त्यो क्रमलाई निरन्तरता दिन पनि संरक्षण क्षेत्रबाहिर बाघको बासस्थान विस्तार गर्न जरुरी देखिन्छ । कञ्चन थापा भन्छन्, ” संरक्षण क्षेत्रभित्र मात्रै बाघ जोगाउछु भनेर बस्यो भने विभिन्न बायोलोजिक समस्या त देखिन्छन् नै उनीहरूका लागि यो ठाउँ पर्याप्त हुँदैन । त्यसैले बाहिर जानै पर्छ । यसको कुनै विकल्प छैन ।”

हाल नेपालमा दुई सय बाघ छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics