बर्दियामा मात्रै ९५ वन्यजन्तु मरे

तस्विर : सागर गिरी


बितेको एक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा ९५ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ६४ वटा चित्तल रहेका छन् । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बन्यजन्तु मर्ने संख्या बढिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार निकुञ्जमा सबैभन्दा बढी राजमार्गमा गुड्ने सवारी साधनको ठक्करबाट जनावर मर्ने गरेका छन् । यो निकुञ्जमा आर्थिक वर्ष २०७३/७४ मा सवारीसाधनको ठक्करबाट ६३ वटा वन्यजन्तुको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै पूर्व पश्चिम राजमार्ग भएर तीव्र गतिमा चल्ने सवारी साधनको ठक्करवाट वन्यजन्तुको मृत्यु हुने क्रम बढिरहेको छ । थापाले भने, ‘निकुञ्ज आसपासमा सवारीको गति चेकजाँचमा कडाई गरिएको छ । तैपनि सवारीको ठक्करबाट बन्यजन्तु मरिरहेका छन् ।’

निकुञ्जका अनुसार यो आर्थिक वर्षमा सबैभन्दा धेरै ६४ वटा चित्तल मरेका छन् । त्यस्तै ७ वटा बँदेल, ५ ओटा लङगुर, ५ वटा जरायो, ४ वटा रतुवा, पाटेबाघ लगायत अन्य जनावर मरेका छन् । संरक्षण अधिकृत थापाले भने, ‘प्राकृतिक कारणले त जनावर कमै मर्छन् । यसबाहेक सवारीको ठक्करबाट, नहरमा खसेर र कुकुरको टोकाइबाट बढी बन्यजन्तु मर्ने गरेको पाइन्छ ।’
निकुञ्जका अनुसार सबैभन्दा बढी सवारी साधनको ठक्करबाट ६३ वटा, कुकुरको टोकाइबाट २४ वटा र अन्य ६ वटा नहरमा खसेर मरेका छन् । निकुञ्जमा मृग प्रजातिका वन्यजन्तु बढी रहेका छन् ।

तीव्र गति र चालकको लापरवाहीका कारण दर्लभ वन्यजन्तु मरिरहेका छन् । गत वर्ष पुस ६ गते राती बसको ठक्करबाट बयस्क भाले पाटे बाघ मरेको थियो । निकुञ्जले चालकको लापरवाहीले भएको दुर्घटनामा ऐन अनुसार कारबाही गर्दै आइरहेको भए पनि अझै नियन्त्रणमा आउन नसकेको जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सवारी साधन चलाउँदा ४० कि.मि. प्रतिघण्टा भन्दा बढी गतिमा चलाउन नपाइने र हर्न समेत बजाउन नपाइने नियम छ ।

सवारी साधनले ठक्कर दिई हात्ती, गैंडा, बाघ मारेमा ५ लाख देखि १० लाख रुपैयाँ सम्म जरिवाना वा ५ वर्ष देखि १५ वर्ष सम्म कैद वा दुवै सजाय गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै बारसिंगा, चौका, सालक, हुडार, चरीबाघ, अजिंगर जस्ता संरक्षित वन्यजन्तु मारेमा १ लाख देखि ५ लाख रुपैयाँ सम्म जरिवाना वा १ वर्ष देखि १० वर्ष सम्म कैद वा दुवै सजायँ गर्नै र चित्तल, जरायो, खरायो, बांदर, लंगुर, रतुवा, दुम्सी लगायत अन्य वन्यजन्तु मारेमा २० हजार देखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा १ वर्ष सम्म कैद वा दुवै सजायँको व्यवस्था गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics