चितवनमा १ वर्षमा २५ गैंडा मरे

तस्विर : सागर गिरी


 

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७३/७४मा ४४ वटा वन्यजन्तु मरेका छन् ।

जसमध्ये २५ वटा गैंडा, आठवटा चित्तल, दुईवटा जरायो, चारवटा बाघ, दुईवटा घडियाल, दुईवटा चितुवा र एउटा निर बिरालो रहेका छन् ।

मरेका वन्यजन्तु मध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै २५ वटा गैंडा रहेका छन् । आर्थिक वर्ष २०७२/७३ सालमा १५ वटा गैंडा मरेका थिए ।

मृत्यु हुने २५ गैंडामा २१ प्राकृतिक कारणले २ वटा करेन्ट लागेर २ ओटा चोरी शिकारीबाट मरेका छन् ।

सरकार र दातृ निकायले एउटा पनि वन्यजन्तुको शिकार नभएको भन्दै तीन वर्ष शून्य चोरी शिकारी वर्ष मनाएपनि यसरी मर्ने बन्यजन्तु सम्बन्धी भने चासो देखाएका छैनन् ।
शून्य चोरी शिकारी वर्ष भनेर मनाइरहँदा २५ गैंडा मरेको चिन्ता भने कसैले गरेको देखिदैन ।  

चितवन निकुञ्जले तारमा अल्झेर, वालिमा लगाएको विषादी खाएर, करेन्ट लागेर, चोटपटक लागेर, वन्यजन्तुलाई आक्रमण र केही प्राकृतिक कारण वन्यजन्तु मरेको जनाएको छ ।

गत अर्थिक वर्षमा चितवन निकुञ्जमा मानिसले पालेको चार वटा हात्ती मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सचेतना कार्यक्रम, कानुनी कडाईको साथ कार्यान्वयन र स्थानीय समुदायलाई संरक्षणको काममा सहभागी गराए निकुञ्जमा वन्यजन्तुको सुरक्षा गर्न थप सहयोग मिल्ने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार आर्थिक वर्ष २०७२/७३ मा ८१ वटा वन्यजन्तु मरेका थिए । यो आर्थिक वर्षमा भने सबैभन्दा धेरै २४ चित्तल मरेका थिए ।

चितवन वाईल्डलाईफ सफारीका लागि विश्वका १० निकुञ्जभित्र पर्छ । यो निकुञ्जमा विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा धेरै प्रजातिका स्तनधारी प्राणी, ६०० भन्दा बढी प्रजातीका चराचुरूङ्गीहरु पाइन्छन् ।

बाघ पाइने १३ देशमध्ये सबैभन्दा छिटो र सहज तरिकाले चितवन र बर्दियामा बाघ देख्न सकिन्छ । बाघको हब हो चितवन । बाघको आहार प्रजाति पनि चितवनमा धेरै छन् । चितवनमा बाघ र गैंडा पर्यटकका मुख्य आकर्षण हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा भएको हो ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics