पानीबिना छट्पटिदै मृगस्थलीका मृग


आकासे पानीकाे भर


छेउमै बागमती बगिरहेको छ । बागमतीको ५० मिटरमाथी श्लेष्मान्तक वन (मृगस्थली) मा रहेका एकसय ३२ मृग पानी नपाएर छटपटाइरहेका छन् । मृगस्थलीका मृगलाई खुवाउन अहिले पशुपति विकास कोषसँग पर्याप्त पानी छैन ।

बोरिङ बिग्रीएको १५ दिन भइसक्यो तर अहिलेसम्म बनेको छैन । बोरिङ बिग्रीएपछि आकासे पानीको भरमा पानी खुवाँउदै आएको कोषले यसको दीर्घकालीन समाधानमा कहिल्यै ध्यान दिएन ।

विकास कोषका वरिष्ठ सहायक होम प्रसाद नेपालका अनुसार बोरिङ बिग्रिएको धेरै दिन बितिसक्दा पनि यसकाे निर्माणमा पशुपति विकास कोषले खासै चासो दिएको देखिँदैन । उनले भने, 'अहिले बजेट अभावले पनि यसको निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।'

आकासे पानीको विकल्प अहिले कोषसँग छैन । सानो खोरमा खाँदिएका मृगका लागि पानी मात्रै होइन पर्याप्त चरण र घुमफिरका लागिसमेत ठाउँ छैन ।

पशुपति विकास कोषले वर्षायामका बेला भएकाले मृगका लागि आकासे पानी पर्याप्त भएको जनाएको छ । कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले भने, 'मृगलाई पानी खुवाउनका लागि समस्या छैन । तर बोरिङ बिग्रीएको चाहिँ हो ।'
पशुपति विकास काेष भन्छ, 'अब केही दिनमा नै बाेरिङ निर्माण हुन्छ ।' तर कहिले हुन्छ भन्ने प्रश्नकाे उत्तर काेष सँग नै छैन ।

श्लेष्मान्तक वनको ९५ रोपनी क्षेत्रफलमा रहेका यी मृगहरुको उचित संरक्षण हुन सकेको देखिँदैन । सानो क्षेत्रफलका कारण पनि मृगको वासस्थान अव्यवस्थित बन्दै गएको छ। सानो क्षेत्रफल भएकाले यहाँ मृगलाई पानीको मात्र होइन चरिचरन र घुमफिर गर्न पनि समस्या देखिएको छ ।

कोषले वार्षिक रूपमा मृगको दानापानी, यहाँ काम गर्ने कर्मचारी, मृगको स्वास्थ्य परीक्षण र मृग बाटिका व्यवस्थापनका लागि ५० लाख बजेट छुट्याउँदै आइरहेको छ । तर पनि मृग संरक्षण र यसको वासस्थानसम्बन्धी कोषले खासै ध्यान दिन सकेको देखिँदैन ।

मृगस्थलीमा कोषले पहिलोपटक २०६१ सालमा ३२ मृग छाडेको थियो । ती सबै मृग अन्य राष्ट्रिय निकुञ्जबाट ल्याइएको थियो । विज्ञहरुका अनुसार मृगस्थलीमा बढीमा ३० मृग राख्न सकिन्छ तर यहाँ करिब डेढ सय मृग पुग्न लाग्दासमेत यस सम्बन्धी सम्बन्धित निकायको ध्यान जान सकेको देखिँदैन ।

चरिचरन अभावमा मृगले मृगस्थलीभित्र रहेका रूखका बोक्रासमेत उप्काउने गरेका छन् । यसबाहेक यिनीहरूलाई हिडडुल गर्नसमेत समस्या देखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics