सामुदायिक वन राष्ट्रिय दिवस मनाइदै



सरकारले ‘सङ्घीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने नारा सहित सामुदायिक वन राष्ट्रिय दिवस मनाउने भएको छ । मङ्गलवारदेखि ३ दिन मनाइने यो दिवसमा वनसंग सम्बन्धित विविध कार्यक्रम गरिने वन विभागले जनाएको छ ।

वन विभागले मङ्गलवार पत्रकार सम्मेलन आयोजना गर्दै दिवसको अवसरमा सामुदायिक वन ललितपुरका अभियन्ता कृष्ण बहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका स्व. लक्ष्मण दोङलाई मरणोपरान्त सम्मान गर्ने जानकारी दिएको छ । यसका साथै बिहीबार सानोवन सामुदायिक वन काभ्रेपलाञ्चोकको वन भ्रमण गर्ने र वृक्षारोपण लगायतका कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले मुलुकमा हुन गइरहेको सङ्घीय संरचनामा स्थानीय समुदायको पहिचान अधिकार तथा भूमिका कायम गर्ने गरी सामुदायिक वन प्रक्रियालाई संस्थागत गर्नुपर्ने बताए ।

नेपालमा १८ लाख १३ हजार ४ सय ७८ हेक्टर क्षेत्रफलमा १९ हजार ३ सय ६१ सामुदायिक वन रहेको छ । सामुदायिक वनबाट २४ लाख ६१ हजार ५ सय ४९ मानिसहरू लाभान्वित भएको तथ्याङ्क रहेको छ ।



नेपालमा सामुदयिक वन सिन्धुपाल्चोक जिल्लाको तत्कालीन ठोकर्पा पञ्चायत (हाल सुनकोशी गाँउपालिका १, २ र ३) मा वन संरक्षण, सम्वर्धन र विकाससहित व्यवस्थापनकोलागि वि.सं. २०३०मा स्थानीय पंचायतलाई २ वर्ष परीक्षणको रूपमा र त्यहीँबाट स्थानीय समुदायको सहभागितामा वन संरक्षण तथा व्यवस्थापन सुरु भएको पाइन्छ ।

पछि वि.सं. २०३३ मा राष्ट्रिय वन योजना लागु भएपछि २०३५ मा वन ऐन २०१८ मा संशोधन भई समुदायमा आधारित वन व्यवस्थापन नीतिगत तथा कानुनी रूपमा सुरु भएको र सामुदायिक वन स्थानीयको संरक्षणमा रहँदै आएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics