बारीका रुख सोत्तर भएपछि…

बाढीले उखेलिएका रुख काट्दै


अविरल वर्षासँगै गत शुक्रवार आएको बाढीले गौरादह नगरपालिका वडा नं १ झापाका भुपराज लुईटेलको निजी वन बगाएको छ । करिब डेढ विघा जमिनमा लगाएको वन बाढीले बगाएपछि अहिले उनी चिन्तित छन् । तर पनि हिम्मत हारेका छैनन् । बाढीले बगाउँदा पुरै जरा नउखेलिकाएका विरुवाहरुलाई बाँसको टेको लगाएर उठाउने प्रयास गरिरहेका छन् ।

उनले अघिल्लो वर्षमात्रै ३ सय ७५ टिक र २५ पाउलिनियाका बिरुवा लगाएका थिए । एक वर्षमात्र भएका कलिला रुखहरु बाढी पसेपछि कतै उखेलिएका छन् भने कतै ढलेर भाँचिएका छन् ।

लुईटेलले चार वर्ष अघि देखि नै निजी वन हुर्काउँदै आएका थिए । चार वर्ष अगाडी दश कठ्ठामा सुरु गरेको व्यवसाय उनले अघिल्लो वर्षमा बढाएर डेढ विघा बनाएका थिए । चार वर्षअघि १० कठ्ठामा रोपेका मसलाका रुखहरु निकै ठुलो भइसकेको थियो । उनले निराश हुँदै भने, 'ती रुखहरुका पनि जरा उखेलिएर ढलेका छन् ।'

'जरा नउखेलिएका साना विरुवाहरु त फेरी उठ्छ कि भनेर बाँसको टेका लगाएर उठाइरहेको छु । अब जरा उखेलिएका अलि ठुला रुखहरु काट्नु बाहेक अरू विकल्प छैन', उनले भने ।

बाढी अाउनु अघि बारीका रुखहरु


निकै मिहिनेत गरेर मलजल गरी हुर्काएको बिरुवा बाढीले सबै सोत्तर बनाएपछि जरा नउखेलिएका रुखहरुलाई फेरी उठाउने प्रयास गरिरहेका छन् । पानी पर्न रोकिएपनि अझै त्यस भूभागमा पानी जमिरहेको छ । पानी जमेको र माटोसमेत कमजोर भएकाले बाँस गाडेर रुखहरु उठाउन पनि उप्ठेरो भइरहेको छ ।

मिहिनेतका साथ मलजल गरेर हुर्काएका रुखहरु चार वर्षकै अवधिमा निकै मोटा र अग्ला भएका थिए । लुईटेलले यी विरुवाहरु लगाउन र हुर्काउन निकै मिहिनेत गरेका थिए । उनका अनुसार बाढीका कारण उनको निजी वनको करिब १० लाख बराबरको क्षति भएको छ ।

उनले हुर्कदै गरेको आफ्नो वनलाई बिमा गरेका थिएनन् । बिमा नगर्दा यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षतिले किसानहरूलाई अप्ठेरोमा पारेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics