दाङमा मेयरले गरे राहत वितरण



 

तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित मेयर विपद् व्यवस्थापन कोष मार्फत विभिन्न संघसंस्थाहरुले वाढीपीडितहरुलाई राहत वितरण गरेका छन् ।

कोषले तुलसीपुर १३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर परिवारलाई राहत वितरण गरेको थियो । कोषले इन्लासे नेपालको सहयोगमा वाढीपीडितहरुलाई सिरक, तन्ना, पी फर्म, झुल लगायतको राहत सामग्री वितरण गरेको थियो । इन्लासे नेपालका केन्द्रीय अध्यक्ष श्याम साहुले आवश्यकता अनुसार फेरि पनि सहयोग गर्ने बताएका छन् । राहत वितरणका क्रममा बोल्दै कोषका संयोजक घनश्याम पाण्डेले वाढीपीडितलाई सहयोग जुटाउन आफू कटिवद्ध भएर लागेको बताए । उनले नक्कली वाढीपीडित बनेर सहयोग लिएको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।

यसै गरी तुलसीपुर उपमहानगरपालिकामा महिला मानव अधिकार रक्षक सञ्जालले वाढीपीडित गर्भवति तथा सुत्केरीहरुलाई सुरक्षित आवास, पोषण, लुगा , औषधि उपचार र मनोसामाजिक सहयोग गर्नका लागि स्नेह केन्द्र सञ्चालनमा ल्याएको छ ।

साथै वाढीपीडितलाई रोगको प्रकोप नफैलियोस् भनेर तुलसीपुर उपमहानगरपालिकाको संयोजन र राप्ती अञचल औषधि व्यवसायी संघको सहयोगमा बाढी प्रभावित क्षेत्र तुलसीपुर १३ रनियापुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा ५१ महिला सहित ८९ जनाको स्वास्थ्य जाँच डा. अरविन्द भुषाल र डा. सुनिल खनालले गरेका थिए । आँगनमै स्वास्थ्य जाँच गराउन पाउँदा पीडितहरुले राहतको महसुस गरेका थिए । शिविरमा आएका पीडितहरुलाई सामान्य रुघाँ खोकी , पेट दुख्ने , भाइरल फिवर लगायतका सामान्य रोग लागेको र उनीहरूलाई औषधि समेत दिइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका वसन्त कुमार आचार्यले जानकारी दिए । स्वास्थ्य शिविरमा राप्ती अञ्चल औषधि व्यवसायी समिति अध्यक्ष भुवनेश्वर बुढाले औषधिको व्यवस्थापन गरेका थिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics