बिहे घरमा अपरेशन गर्दा…

A+ A-



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  दशाैं अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

जग्गा पास गर्ने निहुँमा पक्राउ


लाहुरेले आफ्नो घर र जग्गा बेच्न खोजेको थाहा भएपछि हामीले सुराकीलाई ग्राहक बनाएर पठायौँ । उसले सामुदायिक वनका अध्यक्षलाई जग्गा बेचिदिन भनेको रहेछ । सुराकीले त्यो पत्ता लगाएर उनीसँग सम्पर्क गरेछ । उनले लाहुरेलाई बोलाएछन् र जग्गा किनबेच गर्ने तय भएछ । सुराकीले जग्गाको मोलतोल गरेर बैना पनि दिएछ। त्यही बमोजिम मैले जग्गाको दाम दुई लाख चालीस हजार अफिसकै मध्यवर्ती क्षेत्र कार्यक्रमबाट सापटी लिएर उसलाई दिएँ ।

२०६० फागुन ४ गते बिहानै तयार भएर हामी पाँच–छ जना मालपोत कार्यालयतिर लाग्यौँ । अफिस खुल्नुअगावै त्यहाँ पुग्यौँ र सेक्युरिटीका लागि खटिएका सइसँग भेटी हाम्रो योजना बतायौँ। ‘आवश्यक परे तपाईंहरुले पनि सहयोग गर्नुहोला’ भन्यौँ । सुराकीसँग लगातार सम्पर्क भैरहेको थियो । लाहुरेहरु नारायणगढ आएर होटलमा बसेका छन् भन्ने थाहा भयो । अफिस खुलेपछि उनीहरु पोखराबाट ल्याइएको रातो रङ्गको ट्याक्सीमा आए । लाहुरेकी श्रीमती, छोरी र भाइ पनि थिए । मालपोत कार्यालयमा जग्गा पास गर्ने र बाहिर आएर पैसा भुक्तानी दिने भन्ने सल्लाह थियो । मैले साथीहरुलाई पसलहरुमा छरिएर बस्नू र इसारा गरेपछि अगाडि बढ्नू भनेर विभिन्न ठाउँमा राखेको थिएँ ।

केही बेरपछि, सुराकी निक्लनुभन्दा अगाडि लाहुरे बाहिर निस्केर ट्याक्सीमा बसी हिँड्ने सुरसार गर्न थाल्यो । मैले बुझिहालेँ, योजना बमोजिम काम भएन, मालपोतभित्रबाटै पैसा लिएर यिनीहरु हिँड्दै छन् भनेर । अनि हतारहतार साथीहरुलाई नजिक–नजिक आउन इसारा गरेँ। ड्राइभरले ट्याक्सी स्टार्ट गरिसकेको थियो । म ट्याक्सीको अगाडि उभिएर अलमल गर्न थालेँ । त्यति बेलासम्म सबै साथीहरु आइपुगे । मैले हत्त न पत्त ट्याक्सीको स्टार्ट बन्द गरेर चाबी खोसेँ । साथीहरुले लाहुरेलाई तानेर बाहिर निकाले । त्यति बेलासम्म हाम्रो गाडी पनि त्यहाँ आइपुग्यो । ड्राइभरबाहेक सबै जनालाई फटाफट हाम्रो गाडीमा राख्यौँ। उसले ल्याएको ट्याक्सीमा हाम्रा साथीहरु बसे र तत्काल हामी कसरातर्फ लाग्यौँ ।

हाम्रो अपरेसनलाई त्यहाँका मान्छेले अपहरण भएको भन्ने ठानेछन् । कसै–कसैले प्रहरीलाई फोन गर्ने कुरा पनि गरेछन्, जग्गा बेचेको पैसा लुटे भनेर । यसरी अपहरण शैलीमा हामीले गैँडा तस्करलाई समात्यौँ । जग्गा सुराकीको नाममा पास भएकाले उसले सोचेछ, यो जग्गा मेरै भयो भनेर । २०६२ साल फागुनतिर मैले ‘त्यो जग्गा बेचबिखन गर्नुपर्यो; मैले अफिसमा सापट लिएको पैसा फिर्ता गर्नु छ’ भनेपछि ऊ ‘जग्गा मेरै हो’ भन्न थाल्यो ।

त्यो कुरा मिलाउन मलाई धेरै झमेला प¥यो । लाहुरेको नाम गादर पुर्जा पुन रहेछ । पर्वतको बनौ–८ स्थायी ठेगाना भएको ऊ चितवनको वीरेन्द्रनगर गाविस, वानगु्रपमा कान्छी श्रीमतीसँग बस्दै आएको रहेछ । उसले हामीलाई आफूले गरेका क्रियाकलापबारे बतायो । त्यसका आधारमा उसले ११ वटा भन्दा बढी गैँडा मारेर खाग बेचबिखन गर्ने गरेको तथ्य र उसको टोलीका अन्य सदस्यबारे हामीलाई थाहा भयो । हामी उसलाई लिएर बेलुका सौराहा आयौँ। त्यहाँबाट क्याप्टेन विशालबहादुर शाहसहितको हाम्रो टोली पूर्वी चितवनतर्फ लाग्यो ।

बिहाघरमा अपरेसन


म एक दिनअगाडि (फागुन ३ गते) वीरेन्द्रनगर, वानगु्रपमा बसेको एउटा चेपाङबारे सुराक बुझ्न सिमलटाँडी बजार गएको थिएँ । राजमार्गदेखि उत्तर देब्रेतर्फ तीनतले आरसीसी घर थियो । त्यो घरबाट जन्ती जाने तर्खर भैरहेको थियो । जन्ती जान तयार भएका मान्छेको अनुहार र लामा गुरूहरुको ओहोरदोहोर हेर्दा तामाङ जातिको विवाह हो भन्ने प्रस्ट हुन्थ्यो । मैले अनायासै सोचेको थिएँ— यो बजारमा यति ठूलो र आकर्षक घर कुनै खाग तस्करको त होइन ?

त्यसको भोलिपल्ट राति हामी त्यही बिहे घर जान लागेका थियौँ । लाहुरेले ‘सिमलटाँडीको बुद्धिमान तामाङलाई खाग लगेर दिन्थेँ’ भनेको थियो र बुद्धिमानको घर त्यही थियो । त्यहाँ उसको छोराको बिहे भइरहेको थियो । बयानबाट खुल्यो— बुद्धिमानले २०४१ सालदेखि बाघको छाला र खागको तस्करी गर्दै आएको रहेछ । ऊ भारतीय सेनामा काम गरेर टीबी लागेपछि फिर्ता आएको रहेछ र हाल लामा काम गर्दो रहेछ । उसका दुई छोरा भारतीय सेनामै रहेछन् ।

रातको करिब एघार बजिसकेको थियो । कर्फ्यू लाग्ने भएकाले सडकमा गाडी गुडेका थिएनन् । हाम्रा दुई गाडी मात्र पश्चिमबाट पूर्वतिर हुइँकिइरहेका थिए । प्रायः म आफैँ गाडी चलाउँथेँ। सिमलटाँडी बजार नजिकिँदै गर्दा बिहाघर टाढैबाट देखियो । झिलिमिली बत्ती बलिरहेको थियो । घरको छतमा पाँच–दस युवा आगो बालेर गीत गाउँदै नाचिरहेका, झुमिरहेका देखिन्थे । हामी त्यहाँ पुग्दा घरको मूल गेटको च्यानल लगाइसकिएको थियो । बाहिरबाट बोलाएर माथि कसैले सुन्दैनथ्यो। माथि जाने कुनै उपाय थिएन ।

मैले यसो हेरेँ— मूलगेटअगाडि रहेको स्वागतद्वारको डन्डी पहिलो तलाको बरन्डासम्म पुगेको थियो । साथीहरुको सहायताले त्यही डन्डीबाट चढ्दै बरन्डाको रेलिङ भेटेँ र म माथि उक्लिएँ । मपछिपछि क्याप्टेन विशाल पनि आउनुभयो । हामी अब घरभित्र छिरिसकेका थियौँ । कोठाहरु बन्द थिए; कोही सुतिसकेका थिए त कोही गफ गरिरहेका थिए ।

हामी दुवै माथि छतमा पुग्यौँ; पहिले नाचिरहेकाहरु हाम्रो गाडी रोकिएको थाहा पाएर होला, चुप थिए । हामीले ‘सोनाम र बुद्धिमान कहाँ छन् ?’ भनेर सोध्यौँ । उनीहरुले दुवै जना त्यहाँ नभएको बताए । हामीले केहीलाई बल पनि प्रयोग गर्यौँ । हामी दुई जना मात्र देखेर उनीहरु अति चर्को स्वरले झर्किंदै थिए । विशालजीले पेस्तोल देखाउनुभयो । त्यसपछि भने ती डराए ।

हामी तल्लो तलामा झर्यौँ र सुतेका मान्छेहरुलाई उठायौँ । पार्टीमा आएका आफन्तले बुद्धिमान सुतेको कोठा देखाइदिए । हामीले उसलाई सुतिरहेकै ठाउँमा पक्रियौँ । त्यति बेलासम्म तलको च्यानल गेट खोल्न लगाएर अरु साथीहरु पनि माथि आइसकेका थिए । त्यसपछि हामी सोनामलाई खोज्न थाल्यौँ । सबै जना अक्क न बक्क थिए । हामीले प्रस्ट बताइदियौँ, गैँडा तस्कर खोज्न आएका हौँ भनेर । खोजतलास गर्दै जाँदा हामीले नवविवाहित जोडी सुतिरहेको कोठा पनि खोल्न पुगेछौँ ।

दुलहीले अकमक्क परेर आफ्नो दुलाहासँग सोधिन्– ‘के हो? किन हो?’
दुलहा पनि अनभिज्ञ थिए । उनले भने– ‘खै के हाे ? किन हो ?’
कोठामा दुलहा–दुलही देख्नेबित्तिकै हामीले ‘सरी, माफ गर्नुहोला’ भन्यौँ ।
पछि ती दुलहीले आफ्नो माइतीमा गएर भनिन् अरे– ‘मलाई त्यस्तो घरमा किन दिनुभयो ?’ विवाहको भोलिपल्ट नै यस्तो भयो भनेर आफ्ना आमाबाबुसँग रोइन् अरे । उनी निर्दोष थिइन् । यो सब उनको नभई उनका ससुराले गरेको अपराधको परिणाम थियो ।

माला जप्ने तस्कर


बुद्धिमानलाई लिएर हिँड्न लाग्दा हामीले उसकी श्रीमतीलाई लोग्नेको कपडा ल्याइदिन भन्यौँ । बुद्धिमानले जप्ने माला पनि ल्याइदिन भन्यो । मलाई अत्यन्तै घृणा लाग्छ— एकातिर देखावटी रुपमा ओम् माने पेमे हुम् भनेर माला जप्ने तर अर्कातर्फ निर्दोष वन्यजन्तु मार्ने र तस्करी गर्नेहरुप्रति । गैँडा तस्करीमा संलग्नहरुको सूची हेर्यो भने तिब्बती शरणार्थीका साथै मनाङ, हुम्ला, गोरखा लगायतका मान्छेको बाहुल्य देखिन्छ जो प्रायः बुद्ध धर्मका अनुयायी हुने गर्छन् । सम्पत्ति कमाउन निर्दोष प्राणीलाई मार्छन् । तिब्बतीहरुले तस्करी गरेर कमाएको मोटो रकमबाट केही गुम्बालाई दिन्छन् । शान्तिका अग्रदूत गौतम बुद्धको गुम्बाको खर्च जनावर मारेको कमाईबाट ! कस्तो विडम्बना !!

बुद्धिमानलाई ‘कहाँ छ सोनाम?’ भनेर सोध्दा उसले नजिकैको घर देखाइदियो । हामी त्यो घरमा पनि पस्यौँ । त्यहाँ पनि श्रीमान्–श्रीमती सुतिरहेका थिए । सोनाम भने थिएन । हामी त्यहाँबाट वानग्रुपतर्फ लाग्यौँ। बाटामा लाहुरेले सोनामको घर देखाइदियो । त्यो घर सानो थियो । सोनाम बुद्धिमानको साढुभाइ थियो । तर घरमा ती दुईको तुलना हुनै सक्दैनथ्यो । भर्खर–भर्खर तस्करीमा लागेकाले हुन सक्छ, सोनाम गरिब थियो । ऊ सुतेको बाहिरबाटै प्रस्ट देखिन्थ्यो । घरभित्र र बाहिर पनि बत्ती बलिरहेको थियो ।

चितवनका गाउँघरमा प्रायः बत्ती बालेरै सुत्छन् । बाहिरका बल्ब पनि निभाउँदैनन् । यहाँका मान्छे बिजुली चोर्न खप्पिस छन् । अधिकांश घरमा चोरीकै बिजुली बल्छ । मिटर जोडिएको भए पनि चोरीको तार पनि झुन्डिरहेको हुन्छ र मिटरवाला हैन, तारवाला बिजुली खपत गर्छन् ।

कुखुरापालन फार्महरुमा कर्मचारीसँग मिलेर बिजुली चोरिन्छ भने गाउँघरमा चोरीको तार हटाउन आउने विद्युत् कर्मचारीलाई लखेटेर ढुक्कै बिजुली चोर्ने चलन छ । चोरेको बत्ती निभाउनु नै किन पर्यो र ? मिटर चढ्दैन; बिल बढ्दैन र भुक्तानी पनि दिनुपर्दैन । मुफ्तमा आएको, जति बाले पनि भयो । नेपालमै सबैभन्दा बढी बिजुली चोरी गर्ने जिल्लामा पर्छ होला चितवन । सजिलै बाहिरबाट ढोका खोलेर मैले ‘सोनाम, सोनाम’ भनेर बोलाएँ ।

ऊ मस्त निद्रामा थियो। अलि बेर निकै जोडले बोलाएपछि उठ्यो ।
मैले भनेँ– ‘के छ सोनाम, हालखबर?’
उसले आँखा मिच्दै भन्यो– ‘ठीकै छ।’
ऊ फेरि निदाउन खोज्यो । मैले हल्लाएर उठाएँ । उसको सासबाट रक्सीको गन्ध आइरहेको थियो । आँखा खोल्दा ऊ खङ्ग्रङ्ग भयो हामीलाई देखेर। उसको निद्रा र नशा दुवै भाग्यो । हामीले उसलाई हिँड्न भन्यौँ र कपडा लगाउन अरायौँ । उसले कुरा बुझिहाल्यो; के, किन केही भनेन र लुरूलुरू हिँड्यो । हामी ऊ चढेर आएको साइकल पनि लिएर त्यहाँबाट हिँड्यौँ । उसकी श्रीमती भने दिदीको छोराको बिहे भोजमा उतै सिमलटाँडीतिर रहिछन्। नत्र यहाँ पनि श्रीमान्–श्रीमतीको गोपनीयता भङ्ग हुने गरी एक ठाउँमा सुतेको अवस्थामा पक्रनुपर्ने हुन्थ्यो । कस्सो पशु अधिकार हनन गर्नेहरुविरूद्ध मानव अधिकारको उल्लङघन गर्नुपरेन !

वास्तवमा सोनाम सोझो थियो । ऊ अरुको देखासिकीमा गैँडा मार्ने काममा लागेको रहेछ। तस्करहरुको तडकभडक र मोजमस्ती देखेर ऊ यो धन्दाप्रति आकर्षित भएको रहेछ । वीरमान प्रजाले ‘पैसा कमाउने भए हामीसँग हिँड’ भनेर हिँडाएको भन्थ्यो उसले । गैँडा तस्करहरुको सोच नै धेरैभन्दा धेरै मान्छेलाई गैँडा मार्ने लतमा लगाउनु हुँदो रहेछ । पैसाको लोभमा बेरोजगार र गरिब युवाहरु फस्दै जाँदा रहेछन् । गिरोहमा अघोषित सदस्यहरु थपिँदै जाँदा तस्करी मौलाउँदो रहेछ ।

सोनामले अब आफू सुध्रने र गैँडा जोगाउन सहयोग गर्ने भन्ने ब्यहोराको चिठी पठाएर रिहा गरिदिन धेरै पटक अनुरोध नगरेको पनि होइन तर म केही गर्न सक्दिनथेँ । अढाई वर्षपछि, २०६३ असारमा मलाई शिखाराम प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएपछि उसले भरतपुर कारागारबाट ‘आममाफीको माग गर्दै जेलमा आन्दोलन गर्नुपर्ने’ अभिप्रायको मार्मिक र दर्दनाक चिठी नवलपरासीमा पनि पठाएको थियो ।

तस्करको ताँती


बुद्धिमान तामाङले खाग चेतप्रसाद खरेलले दिएको भनेको थियो । ऊ बिहानबिहान पूर्वी चितवनको बैरहनी चोकमा आउँछ भन्ने पनि सुनेको थिएँ । २०६० फागुन ६ गते गेमस्काउट महेन्द्र थापासँग टाँडीबाट भण्डारा जान लाग्दा बैरहनी चोकमा बुङिमानले बताएको हुलिया बमोजिमको मान्छे साइकलमा खुरखुरेतर्फ जाँदै गरेको देखेँ। गाडी रोकेर चौतारामा बसेको एक जनालाई ‘चेतप्रसाद खरेल भन्ने मान्छे यही हो ?’ भनेर सोध्दा उसले ‘हो’ भन्यो । त्यसपछि मैले गाडी अगाडि बढाएर उसलाई साइकलसहित समातेँ ।

गाडीमा राखी टाँडी पु¥याएर ‘तिमीलाई खाग कसले दिएको हो ?’ भनेर सोध्दा उसले नाम लियो क्षेत्रबहादुर विकको । अनि सौराहाबाट दुई जना स्टाफ मगाएर बैरहनी चोकभन्दा माथि गएर क्षेत्रबहादुरलाई पनि पक्रियौँ । आरनमा काम गर्दै थियो ऊ ।

त्यसपछि दुवैले खाग दिने व्यक्ति भनेर पर्सा बजारको मुढा साइँलाको छोरो गोरेको नाम लिए । मैले अनुमान गरेँ— त्यो मान्छे बुद्धिबहादुर प्रजा हो, जसलाई हामीले अघिल्लो वर्ष पक्राउ गरेर प्रमाण नपुगेका कारण छाडेका थियौँ । मैले गाडी पर्सा बजार, मगनी चोकमा रोक्न लगाएँ र महेन्द्रलाई त्यो मान्छेलाई बोलाएर ल्याउन भनेँ। ऊ घरमै रहेछ। सरासर आयो। ‘तिमीले भनेको मान्छे यही हो ?’ भनेर सोध्दा चेतप्रसादले ‘हो’ भन्यो । त्यसपछि हामीले उसलाई पनि गाडीमा हालेर कसरा ल्यायौँ ।

‘खाग कहाँबाट ल्याइस्?’ भनेर सोध्दा उसले कुरा खोल्यो । कुरा यस्तो रहेछ— कोराक काली खोला गएर हामीले मङ्गले र रामकुमार भन्ने साइँलालाई पक्रेका थियौँ । हामीले भेटेनौँ तर त्यो दिन तिनीहरुसँग खाग रहेछ । आफू पक्राउ परेपछि उनीहरुले बुद्धिबहादुरलाई त्यो खाग बेच्न भनेछन् । त्यही खाग ल्याएर उसले क्षेत्रबहादुरलाई, क्षेत्रबहादुरले चेतप्रसादलाई, उसले बुद्धिमानलाई र बुद्धिमानले ताम्लिङलाई लगेर दिएका रहेछन् ।

क्रमश:

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics