बाँच्ने संघर्षमा हिउँचितुवा

फाइल फाेटाे


हिउँ क्षेत्रमा बस्ने हिउँचितुवाका आहार त्यहाँ पाइने नाउर, झारल, ठूलो मुसा र लिंडे मुसा हुन् । यसबाहेक याक, चौरी र घोडा पनि हिउँ चितुवाका सिकार हुन् । जलवायु परिवर्तनको असरले हिउँचितुवा रमाउने क्षेत्रमै केही वर्षदेखि ब्वाँसो र चितुवा (कमन लियोपार्ड) पनि भेटिन थालेका छन् । तीनै जीव मांसाहारी हुन् । केही वर्षअघिसम्म हिउँ क्षेत्रमा एक्लै रमाउने गरेको ठाउँमा अरू जीव थपिँदै जान थालेपछि हिउँचितुवाले बाँच्न बढी संघर्ष गर्नुपरेको विशेषज्ञको ठहर छ ।

‘तीनवटै जीवको बासस्थान एउटै भएपछि आहारमा प्रतिस्पर्धा हुने नै भयो,’ वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख विज्ञ डा.महेश्वर ढकालले भने, ‘हिउँचितुवालाई उपयुक्त आहार र डाइट पुगेन भने स्वास्थ्यजन्य समस्या उत्पन्न हुन्छ ।’ यसले बच्चा जन्माउन सक्ने क्षमतामा कमी आउँछ । कमजोर भएपछि आफूले मार्नुपर्ने आहार प्रजाति बलियो हुन सक्छन् । ‘हिउँचितुवाभन्दा नाउर वा अन्य आहार प्रजाति बढी दौडन सक्ने भयो भने मांसाहारीले सिकार गर्न सक्दैनन्,’ ढकालले शनिबार कान्तिपुरसित भने, ‘त्यस्तो अवस्थामा आहारकै कारण हिउँचितुवा कमजोर बन्ने अवस्था आउन सक्छ ।’

एउटै प्रजातिका आहारमा अरू वन्यजन्तुले पनि प्रतिस्पर्धा गर्नुपर्‍यो भने द्वन्द्व निम्तिन्छ । त्यसो हुँदा प्राकृतिक पारिस्थितिकीय प्रणालीमै बदलाव आउन सक्छ । त्यसैले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा रमाउने वन्यजन्तुको बासस्थानमा पुर्‍याएको असर र भविष्यमा देखा पर्ने चुनौती सम्बन्धी अध्ययन–अनुसन्धान गर्नुपर्ने विषयलाई हिउँचितुवा पाइने मुलुकका प्रमुखको सम्मेलनमा नेपालले प्राथमिकतासाथ उठाउँदै छ । सम्मेलन ८ र ९ भदौमा किर्गिस्तानको बिस्केकमा हुँदैछ ।

किर्गिस्तानका राष्ट्रपति अल्मज्बेक अतम्बएभको आह्वानमा हुन लागेको सरकार प्रमुखहरूको दोस्रो सम्मेलनको नेतृत्व वन मन्त्रालयका सचिव प्रकाश माथेमाले गर्नेछन् । नेपालसहित अफगानिस्तान, भुटान, चीन, भारत, काजकस्तान, किर्गिस्तान, मंगोलिया, नेपाल, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानमा गरी ४ हजारदेखि ६ हजार ५ सयको हाराहारीमा हिउँ चितुवा छन् । खुम्चिँदो बासस्थान, जलवायु परिवर्तन, बढ्दो चोरी सिकारका कारण हिउँ चितुवाको संख्या घट्दो क्रममा छ ।

ढकालका अनुसार यो सम्मेलनमा चार वर्षअघि (सन् २०१३) को हिउँचितुवा संरक्षणसम्बन्धी ‘बिस्केक घोषणापत्र’ को उपलब्धि विश्लेषण गर्दै नयाँ रणनीति तयार गरिनेछ । हिउँचितुवा संरक्षणका लागि पहिचान गरिएका १२ देशका २३ वटा बासस्थान (भूदृश्य) को समेत सम्मेलनमा विश्लेषण गरिनेछ । नेपालले तयार गरेको हिउँचितुवाको पूर्वी क्षेत्रको भूदृश्यसम्बन्धी योजना बिस्केकमै सार्वजनिक गरिनेछ ।
यो सुन्दर वन्यजन्तु १२ देशमा पाइन्छ । हिउँचितुवाका २३ बासस्थान (भूदृश्य) पहिचान गरिएका छन् । तीमध्ये नेपालमा तीन भूदृश्य छन् । पूर्वमा कञ्चनजंघादेखि लाङटाङ, मध्यमा मनास्लुदेखि अन्नपूर्ण र पश्चिममा धौलागिरिदेखि अपिनाम्पासम्म । नेपालले अरू देशलाई उछिन्दै पूर्वी नेपालको हिउँचितुवाको बासस्थान ‘इस्टर्न हिमालय ल्यान्डस्केपको व्यवस्थापनसम्बन्धी योजना’ तयार गरेको छ । हिउँचितुवा बचाउने यो पहिलो योजना हो ।

पूर्वी क्षेत्रको भूदृश्य ११ हजार ५ सय १५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यसमध्ये ५ हजार ८ सय वर्गकिमि क्षेत्र हिउँचितुवाको मुख्य बासस्थान पहिचान गरिएको छ । यसभित्र विश्वकै अग्लो सगरमाथा क्षेत्रदेखि लाङटाङ क्षेत्रसम्म समेटिन्छ ।

पूर्वी क्षेत्रलाई लाङटाङ, गौरीशंकर, सगरमाथा र कञ्चनजंघा गरी चार ब्लकमा बाँडिएको छ । यो ब्लकभित्र पनि १४ वटा स्थानलाई मुख्य बासस्थानका रूपमा पहिचान गरिएको व्यवस्थापन योजनामा उल्लेख छ । विशेषज्ञले हिउँचितुवाको पूर्वी क्षेत्रको भूदृश्यमा ११ वटा संकटग्रस्त बासस्थान पहिचान गरेका छन् । सन् २०१७ देखि २०२१ सम्मलाई अल्पकालीन र सन् २०२२ देखि २०२६ सम्मलाई दीर्घकालीन गरी योजना प्रस्ताव गरिएको छ । नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा हिउँचितुवा रहेको अनुमान छ ।

कान्तिपुरबाट

अब्दुल्लाह मियाँ

प्रतिक्रिया दिनुहोस

web
analytics