दुई प्रसारण लाइन उद्घाटन गर्दै देउवा र माेदी



भारतको पाँचदिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनको उद्घाटन गर्ने भएका छन् । नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले अपरान्ह २ बजे प्रसारण लाइन रिमोट कन्ट्रोल बाट उदघाटन गर्ने कार्यक्रम छ ।

दुई प्रसारण लाइनको उद्घाटनपछि भारतबाट थप सय मेगावाट बिजुली आयात गर्न सकिने छ। दुवै प्रसारण लाईनबाट ५० / ५० गरी १०० मेगावाट विजुली ल्याइने उर्जा मन्त्रालयले जनाएको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको क्षमता कमजोर भएका कारण थप बिजुली ल्याउन सकेको थिएन। १३२ केभी क्षमताका उक्त नयाँ प्रसारण लाइनबाट थप सय मेगावाट बिजुली आयात हुने भएको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला दुई मुलुकका प्रधानमन्त्रीले ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रस बोर्डर प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

प्राधिकरणले गत वर्ष हिउँदमा विद्युतको उच्च माग हुँदा करिब ३ सय ९५ मेगावाटसम्म आयात गरेको थियो । चालु वर्षको हिउँदमा ५ सय मेगावाट आयात गर्ने तयारी भइरहेको छ ।
हिउँदको लोडसेडिङ अन्त्य र दुई मुलुकबीचको प्रसारण पूर्वाधारको सुदृढीकरणका लागि भारतले अनुदानमा कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन निर्माण गरिदिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय अधिकारी सम्मिलित पावर एक्सचेन्ज कमिटी (पिइसी)को नयाँ दिल्लीमा सम्पन्न बैठकले १३२ केभीबाट आयात गरिने बिजुलीको भाउ प्रतियुनिट ५.५५ भारतिय रुपैयाँ ८.८८ नेपाली रुपैयाँ तोकेको छ ।

कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनलाई आवश्यक पर्ने जग्गाको मूल्य नेपाल सरकार तथा प्राधिकरणले बेहोरेका थिए भने अन्य सम्पूर्ण खर्च भारतले बहोरेको हो। दुवै प्रसारण लाइनको निर्माण यसअघि नै सकिएको थियो।

यी दुई प्रसारण लाइन निर्माण भएसँगै भारतबाट करिब ५०० मेगावाटसम्म बिजुली आयात गर्न सकिन्छ। गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो।

गत आवमा प्राधिकरणले भारतबाट १४ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics