साना स्तनधारी प्राणीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

 

दक्षिण एसियालीस्तरीय साना स्तनधारी प्राणीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा मंगलबार सम्पन्न हुँदैछ ।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनको आयोजनामा आइतबार देखि सुरु भएको तीनदिने सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, ताइवान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्यलगायत १० मुलुकका १ सय ५ वैज्ञानिक तथा विज्ञ सहभागी रहेका छन् ।

वन तथा भू–संरक्षण मन्त्रालय र प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्य तथा यूएसएड÷डब्लूडब्लू एफ हरियो वन कार्यक्रम, जेडएसएल–नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, रेड पाण्डा नेटवर्क, आयुसिएन नेपाल, नास्ट र डब्लूसीएनको सहयोगमा सम्मेलनको आयोजना गरिएको हो ।

दक्षिण एसियाली देशमा साना स्तनधारी प्राणीसम्बन्धी अनुसन्धान तथा संरक्षणका विभिन्न कार्यक्रम हुँदै आएका छन् । त्यस्ता प्राणीको वैज्ञानिक अनुुसन्धानबाट आएका जानकारी तथा तथ्यलगायत आधुनिक उपकरण प्रयोग र पद्धतिसम्बन्धी सरोकारवाला, वैज्ञानिक र जनमानसमा उजागर गर्नु सम्मेलनको उद्देश्य हो ।

विश्वव्यापी रूपमा १ देखि २ केजीसम्मका स्तनधारी प्राणीलाई भने पनि नेपालमा भने पाँच केजीसम्मका स्तनधारी जनावरलाई साना स्तनधारीमा राखिएको छ ।

विभिन्न कारण जोखिममा परेका साना स्तनधारी प्राणी संरक्षणका लागि सम्मेलन उपयोगी भएको राष्ट्रिय योजना आयोग सदस्य डा. प्रभु बुढाथोकीले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मान बहादुर खड्काले साना स्तनधारी प्राणीले पर्यावरणीय संरक्षणमा खेलेको भूमिकालाई वर्णन गर्दै यसको संरक्षण जरुरी रहेको बताए ।

जलवायु परिवर्तनका कारण पनि साना स्तनधारी प्राणी जोखिममा परेको र यसको संरक्षणमा सबैको ध्यान जानुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।

सम्मेलनको अवसरमा बोल्दै साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनकी अध्यक्ष तुलसी लक्ष्मी सुवालले यो फाउण्डेशनले साना स्तनधारी प्राणी संरक्षणमा नेतृत्वदायी भूमिका खेल्दै आएको बताइन् ।

सन् २००९ मा स्थापना भएको यस संस्थाले साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी विभिन्न अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन आयोजना गर्नुका साथै विविध जनचेतनामूलक कार्यक्रम तथा क्षमता अभिवृद्धि गर्दै आएको छ ।

कुल १ सय प्रतिशतमा ६० प्रतिशत त साना स्तनधारी प्राणी नै रहेका छन् । ती साना स्तनधारीमध्ये ४३ प्रतिशत ठिक अवस्थामा र ९ प्रतिशत खतराको सूचीमा रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics