अमेरिकामा आँधीका कारण १५ नेपाली परिवार विस्थापित

तस्विर साैजन्य : लस एन्जलस टाइम्स


अमेरिकामा आएको 'हार्भी’नामक समुद्री आँधीहुरीसहितको भीषण वर्षाले टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रमा १५ नेपाली परिवार विस्थापित भएका छन् ।

गत शुक्रबार रातिदेखि जारी आँधीहुरी अर्थात् हुरिकेनले प्रभावित भएपछि १५ परिवारका करिब पाँच दर्जन सदस्यहरुलाई सुरक्षित स्थलमा सारिएको छ । नेपाली समाज, ह्युस्टनका सल्लाहकार तारा बरालका अनुसार ‘विस्थापित परिवारहरु सुरक्षित स्थलमा रहेका नेपाली परिवारहरुसँग रहेका छन् ।’

ग्रेटर ह्युस्टन क्षेत्रमा करिब १५ हजार नेपाली बसोबास रहेको बताइन्छ ।

मौसम स्थितिमा मंगलबार साँझदेखि केही सुधार आएको बताइएको छ । यद्यपि हुरिकेनको प्रभाव बुधबारसम्म हुने अमेरिकी मौसम विभागको अनुमान छ ।

इतिहासकै डरलाग्दो समुद्री आँधी मानिएको ‘हार्भी’का कारण दक्षिण पूर्वी अमेरिकामा अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । सडकहरु जलमग्न छन् भने ह्युस्टन क्षेत्रका दुईवटा एयरपोर्टहरु बन्द छन् । आपतकालीन स्थितिका कारण हरेक मध्यरातदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने गरिएको छ ।

ह्युस्टन प्रहरीले अहिलेसम्म बाढी प्रभावित ३ हजार ५ सयलाई उद्धार गरेको जनाएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics