अनलाइन सुरक्षाकाे निशुल्क तालिम दिँदै फेसबुक



फेसबुकले किशोरकिशोरीलाई अनलाइन सुरक्षाकाे तालिम दिने भएको छ। आउँदो शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा यो तालिम हुन लागेको हो । एक दिने ‘नेट फर गुड’ मेलामा फेसबुकले फेसबुकको प्राइभेसी, सदुपयोग, फेक प्रोफाइलको पहिचान, कुनै समस्या परेमा फेसबुकले गर्ने सहयोग लगायतका विषयमा बिहान १० बजेदेखि ११ बजेसम्म तालिम सञ्चालन गर्ने भएको छ ।

१३ वर्षदेखि १९ वर्षसम्मका किशोरकिशोरीका लागि लक्षित यो तालिममा प्रवेश निःशुल्क छ।

नेपाल दूरसञ्चार प्राधिकरण, युनिसेफलगायत विभिन्न १५ वटा संघसंस्थाको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा प्रमुख आकर्षण फेसबुकको तालिम भएको आयोजकको भनाइ छ।

बिहान १० बजेदेखि दिउँसो साढे चार बजेसम्म राष्ट्रिय सभागृहमा चल्ने मेलामा सहभागीले अनलाइनको माध्यमबाट गेमहरु बनाउन पनि सिक्नेछन् ।

मेलामा अनलाइन सुरक्षाका विषयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाहेक चार वटा प्यानल छलफल पनि हुँदैछ ।

पहिलो प्यानल छलफलमा नेपालमा प्रविधि र इन्टरनेटको सकारात्मक प्रयोग कसरी भइरहेको छ भनेर फेसबुकका प्रतिनिधिसहित प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालीहरु रहनेछन्।

दोस्रो सत्रमा किशोरकिशोरीको इन्टरनेट अनुभवकाे उनीहरुले नै प्यानल छलफल चलाउनेछन्।

तेस्रो सत्रमा अनलाइन सुरक्षामा नेपालको नीति के कस्तो छ, केही समस्या परेमा समाधानका लागि के गर्ने भन्ने विषयमा दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरी, कानूनविद्लगायतले छलफल गर्नेछन्।

अन्तिम सत्रमा नायिका आना शर्मा, गायक गिरिश खतिवडा, ब्लगर सिसन बानियाँ र संगीतकर्मी नट्टु शाहले कसरी असल डिजिटल नागरिक बन्ने भन्ने विषयमा छलफल गर्नेछन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics