पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिन भारतको नयाँदिल्लीमा बैठक



पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन नेपाल भारत बैठक पुनः सुरु भएको छ ।

बहुप्रतिक्षित बन्दै आएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन दुई देशका सरकारी उच्च अधिकारीको बैठक मङ्गलबार देखि भारतको नयाँदिल्लीमा बसेको छ ।

डीपीआरको अन्तिम रूप दिने बैठक भनेर सरकारी अधिकारीले दाबी गरेका छन् ।

केही समय अघिमात्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षीको संयुक्त पत्रकार सम्मेलनमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको परियोजना विस्तृत प्रतिवेदन (डीपीआर) चाँडै निर्माण गर्ने सहमति भएको थियो ।

दुई दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले नेतृत्व गरिरहेका छन् भने भारतका तर्फबाट भारतको केन्द्रीय जल आयोगका प्रमुख नरेन्द्र कुमारको नेतृत्व छ । दुवै देशका विज्ञ टोलीमा ऊर्जा विज्ञहरूको सहभागिता रहेको छ । विज्ञ समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको थियो । पहिलो बैठकमा सहमति हुन नसकेका र दुबै देशले आन्तरिक छलफल गरेर मात्र टुङ्गोमा पुग्ने भनेर थाती राखेका एजेण्डामा छलफल भई डीपीआरलाई अन्तिम रूप दिइने बताइएको छ ।

नेपाली विज्ञ टोलीले भारत बैठकमा जानुअघि प्रधानमन्त्री तथा ऊर्जा मन्त्रीसँग छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्री देउवाले आयोजनाको विगतमा सहमति हुन नसकेका बुँदामा नेपालका हित हुने गरी अगाडि बढाउन निर्देशन दिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics