‘शून्य विकास’मा चौतर्फी आलोचना खेप्दै मेयर शाक्य



स्थानीय तह निर्वाचनपछि गत जेष्ठ १७ गते काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका विद्यासुन्दर शाक्यले सय दिनभित्र उपत्यकालाई हराभरा बनाउने प्रतिबद्धता जाहेर गरे । उनले चुनाव जितेपछि मात्र नभई चुनाव प्रचार प्रसारका बेलामा उपत्यकाको विकासका कुरा गरे ।

शाक्यले उपत्यकालाई ‘ग्रीन एन्ड क्लिन' महानगर बनाउने, ‘क्लिन सिटी’को रूपमा स्थापित गर्ने, ‘साइकल सिटी महानगर बनाउने, ट्राफिक जाम पूर्ण रूपमा हटाउने, ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्ने, धुलोधुँवारहित हरियाली महानगरको निर्माण गर्ने, घरघरमा 'आर्ग्यानिक' कौसी तरकारी खेती लगाउने गरी विकासका कार्य अगाडी बढाउने भन्ने सबै विकासका योजना चुनाव जित्नका लागिमात्र प्रयोग गरेको देखियो । उनले यतिमात्र होइन महानगरवासिलाई मोनोरेल र मेट्रोरेलको महत्वकांक्षी योजनामा सपनामै भए पनि दौडाइरहे ।

शाक्यले मेयर बनेपछि एक सय एक दिनमा पुरा गर्छु भनेर गरेको प्रतिबद्धता पुरा गर्नका लागि उनले पहिलो दिनदेखि नै दैनिक एउटा प्रतिबद्धता पुरा गर्न सक्नुपर्थ्यो तर उनले त्यसो गर्न सकेनन् । मेयर बनेको एक सय दिनमा नै एक सय एक काम गर्छु भनेर गरेको कार्यसुचिले उनलाई झन् धेरै चर्चाको विषयमा धकेल्यो । चुनावी एजेन्डा बनाएका यी प्रतिवद्धताहरु मेयर बनेपछि एक सय एक दिनमै पुरा गर्छु भन्ने प्रतिबद्धता निरन्तर दोहोर्याए ।

अस्तव्यस्तता सम्हालेनन् थप विकासको आशामात्र

चुनावी मैदानबाट मेयरको कुर्सीमा बसेका शाक्यले काठमाडौंको अस्तव्यस्ततालाई सय दिनमा सम्हाल्ने प्रतिबद्धता मात्र देखाएनन् थप विकास गरेर देखाउछु पनि भने । भूकम्पले क्षति पुर्याएका संरचनाहरुको तत्काल पुनर्निर्माण गर्ने, सुस्त गतिमा भइरहेको रानीपोखरी पुनर्निर्माणको कार्यलाई तीव्रता दिने, धरहरा पुनर्निर्माण गर्ने, भ्यूटावर निर्माणको योजना बनाउने र बसपार्क व्यवस्थापन गर्ने जस्ता विकास योजनाका कार्य मेयर पदमा पुगेपछि उनले विर्सदै गए र यस विषयमा चासो देखाउनै सकेनन् ।

वर्तमान समयमा उपत्यकाभित्र भइरहेका मुख्य समस्या सडक व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिकजाम, ट्राफिक लाइट, आकासेपुल, जेब्राक्रसको निर्माण र मर्मत, बिजुलीका पोलमा अनाधिकृत रूपमा टाँगिएका तारहरुको व्यवस्थापन जस्ता सामान्य क्रियाकलापमा पनि महानगरपालिको विकासको कामका चुकेको छ ।

महानगरपालिकाले वर्तमान अवस्थामा भइरहेका समस्याहरूको तत्काल समस्या समाधानमा पटक्कै ध्यान दिएको देखिँदैन । स्मार्ट सिटी र मोनोरेलजस्ता महत्वाकांक्षी योजनाको निर्माण गर्ने र सामान्य विकासका काम पनि सम्पन्न गर्न नसक्दा महानगरपालिका र मेयर शाक्य थप आलोचित बन्दै गइरहेका छन् ।

काम थोरै चर्चा धेरै

मेयर शाक्यले क्लीन सिटी अभियान अन्तर्गत गत जेष्ठ १८ गते बिहान महाराजगञ्जमा सडकमा झाडु पनि लगाए । उनले अबदेखि सडक, सडकपेटीको धुलो समेत बढारिने र गाडी गुड्दा धुलोको कमी गराइने आश्वासन पनि दिए । त्यति बेला एकपछि अर्को क्रमशः काम गर्दै स्वच्छ र सफा काठमाडौं बनाईने उनको भनाई थियो ।

काठमाडौंलाई स्वच्छ र सफा बनाउनको लागि पदवहाली अगावै कार्यालयको प्रांगणमा एक एक वटा रुद्राक्षको बिरुवा समेत रोपेका थिए । बिरुवा रोपेर पदवहाली गर्नुलाई स्वच्छ काठमाडौं बनाउने संकेत रहेकोसमेत भन्न भ्याए । उनले यतिमात्र गरेनन् श्रावण महिनाको अन्तिम साता अन्तर्राष्ट्रिय विमानस्थलअगाडिको सडकमा पनि झाडु लगाए । अनि असारको मध्यसाता जेष्ठ नागरिकहरूको वार्षिक वृद्धाभत्ता बढाएर १२ हजार पनि पुर्याए ।

किन भएन प्रतिबद्धता अनुसार विकास

एक सय एक दिनमै काम गरेर देखाउँछु भन्ने काठमाडौं महानगरपालिकाका मेयर शाक्यको आफ्नै नेतृत्वको कार्य समितिमा समेत पर्याप्त छलफल हुन नसक्दा काम गर्न असहज भएको र प्रतिबद्धता पुरा हुन नसकेको उनको तर्क छ ।

सय दिनमा पुरा गर्ने प्रतिबद्धतासहित एक सय एक कामको सूची सार्वजनिक गरेका मेयर शाक्यले काम गर्न नसकेको भन्ने कुरालाई स्वीकार गर्दैनन् । प्रतिबद्धता अनुसार नै काम भइरहेको उनी दाबी गर्छन् ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics