पञ्चेश्वर विवाद : जडित क्षमतामा सहमति, सकेन डिपिआरले अन्तिम रूप लिन



विगत लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर जलविद्युत परियोजनाको डिपिआर निर्माणको लागि बसेको बैठकले अन्तिम रूप लिन सकेन । भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नसक्ने अडान लिएपछि आयोजनाको विस्तृत परियोजना डिपिआर निर्माण हुन नसकेको हो ।

यद्यपि नेपाल र भारतबीच पञ्चेश्वरबाट कति विद्युत् निकालिने भन्ने विषयमा भने सहमति भएको छ । पञ्चेश्वरबाट ९२५ मेगावाट फर्म इनर्जी उत्पादन हुनेमा टुंगो लागेको हो । यो सहमतिअनुसार पञ्चेश्वरबाट वर्षको १० अर्ब युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ । बैठकमा सहभागी ऊर्जा मन्त्रालयकका प्रवक्ता दिनेशकुमार घिमिरेले भने, ‘यो सहमतिसँगै पञ्चेश्वरको जडित क्षमता कति हुने भन्ने विवाद भने सकिएको छ ।’

यसअघि डीपीआरको अन्तिम रूप दिने बैठक भनेर दाबी गरिएको भए पनि भारतीय पक्षको अग्राधिकारको कारण डिपिआरलाई अन्तिम रूप दिन नसकिएको बैठकमा सहभागी अधिकारीले जानकारी दिएका छन् ।

भारतले तल्लो शारदा ब्यारेजमा उपभोग गरिरहेको पानीको मात्राबाहेक उपलब्ध हुने पानी बाँडफाँट गर्नुपर्ने विषय राखेको थियो । यही विषयमा नेपाली पक्ष सहमत हुन नसकेपछि सचिवस्तरीय बैठक पुनःबस्ने गरी स्थगन भएको छ ।

केही समय अघिमात्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षीको संयुक्त पत्रकार सम्मेलनमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको परियोजना विस्तृत प्रतिवेदन (डिपिआर) चाँडै निर्माण गर्ने सहमति भएको थियो ।

भारतको नयाँदिल्लीमा दुई दिनसम्म चलेको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले नेतृत्व गरेका थिए भने भारतका तर्फबाट भारतको केन्द्रीय जल आयोगका प्रमुख नरेन्द्र कुमारले नेतृत्व गरेका थिए । दुवै देशका विज्ञ टोलीमा ऊर्जा विज्ञहरूको सहभागिता रहेको थियो ।

विज्ञ समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको थियो । पहिलो बैठकमा सहमति हुन नसकेका र दुवै देशले आन्तरिक छलफल गरेर मात्र टुङ्गोमा पुग्ने भनेर थाती राखेका एजेण्डामा छलफल भएको थियो ।

नेपाली विज्ञ टोलीले भारत बैठकमा जानुअघि प्रधानमन्त्री तथा ऊर्जा मन्त्रीसँग छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्री देउवाले आयोजनाको विगतमा सहमति हुन नसकेका बुँदामा नेपालका हित हुने गरी अगाडि बढाउन निर्देशन दिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics